
माइजोगमाई गाउँपालिकास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ । प्रतियोगितामा नयाँबजारको अमरकल्याण मावि २० पदकसहित पहिलो भएको छ ।
अमरकल्याण माविले १२ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको हो ।
नामसालिङ मावि १० स्वर्ण र ८ रजत गरी कुल १८ पदकसहित दोस्रो भयो । नामसालिङकै नेपाल ज्योति मावि ३ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल १३ पदकसहित तेस्रो भएको छ ।
सोयाङको सरस्वती माविले २ स्वर्ण, २ रजत र ३ कास्य, शिरिसे माविले ४ रजत र ६ कास्य, प्याङ माविले २ रजत र ४ कास्य, शुभकन्या अंग्रेजी विद्यालयले १ रजत र २ कास्य, शिवमाई माविले १ स्वर्ण तथा ज्ञानोदय माविले १ रजत र ४ कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालय सहभागी थिए, जसमा ८ सामुदायिक र एउटा निजी थिए । प्रतिस्पर्धामा पुस ६ मा सुरु प्रतियोगिता माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोग तथा ज्ञानोदय माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको थियो ।

प्रतियोगिताका पहिलो दुई दिन उद्घाटन कार्यक्रमसहित एथलेटिक्सका फिल्ड इभेन्ट र भलिबल खेल ज्ञानोदय मावि जोगमाईमा आयोजना गरिएको थियो । बाँकी एथलेटिक्स रनिङ इभेन्ट, ज्याभलिन थ्रो तथा समापन कार्यक्रम माइजोगमाई–१, नयाँबजारस्थित बालागुरु खेलमैदानमा सम्पन्न गरिएको थियो ।
समापन कार्यक्रम अमरकल्याण मावि व्यवस्थापन समिति अध्यक्ष डम्बरबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई पनि सहभागी थिए ।
वडा ५ का वडाध्यक्ष निर्मलध्वज राई, वडा १ का कार्यवाहक अध्यक्ष भक्त चेम्जोङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख करुणा नेपाल, प्रहरी प्रशासन, गाउँपालिकाका कर्मचारी, विभिन्न विद्यालयका प्राध्यापक तथा खेलप्रेमीको उपस्थिति थियो ।

माइजोगमाईका खेल प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रविन राईले विद्यार्थी खेलाडीको उत्साह उल्लेखनीय रहेको बताउँदै विद्यालयस्तरमै यस्ता प्रतिस्पर्धात्मक खेल आयोजना हुँदा स्थानीय प्रतिभा उजागर हुने र विद्यार्थी भविष्यको खेलजीवनतर्फ प्रेरित हुने बताए ।
स्थानीय तहको सक्रियतामा आयोजना गरिएको प्रतियोगिताले विद्यालय खेलकुदको विकासमा थप टेवा पुग्ने, विद्यार्थीमा अनुशासन, सहकार्य र खेल भावना विकास हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट छनोट भएका विद्यार्थी खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।
आगामी वर्ष हुने माइजोगमाईका गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शिरिसे माध्यमिक विद्यालयमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।






