माईजोगमाई सेरोफेरो

हिंसा र विभेदविरुद्ध जुट्दै माईजोगमाईमा तीज विशेष कार्यक्रम सम्पन्न

माईजोगमाई खवर

‘हिंसा र विभेदविरुद्ध जुटौँ, तीजको अवसरमा अधिकारका लागि उठौँ’ भन्ने सन्देशसहित अन्तरक्रिया तथा विविध कार्यक्रम

‘हिंसा र विभेदविरुद्ध जुटौँ, तीजको अवसरमा अधिकारका लागि उठौँ’ भन्ने नारासहित हरितालिका तीज २०८३ विशेष कार्यक्रम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ।

महिला समन्वय समितिको आयोजना तथा माईजोगमाई गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा तीजको सांस्कृतिक तथा ऐतिहासिक महत्वसँगै महिला हिंसा, विभेद र यसको न्यूनीकरणका विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिसमेत प्रस्तुत गरिएको थियो।

महिला समन्वय समितिकी अध्यक्ष उषादेवी दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष प्रविना राई विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य लगायत विभिन्न क्षेत्रका वक्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले हरितालिका तीजको ऐतिहासिकता, धार्मिक तथा सांस्कृतिक महत्वका विषयमा चर्चा गर्दै पछिल्लो समय तीज पर्व मनाउने क्रममा देखिएका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे धारणा राखेका थिए।

त्यसैगरी, महिला हिंसा, लैङ्गिक विभेद, महिला अधिकार तथा हिंसा न्यूनीकरणका उपायहरूका विषयमा समेत अन्तरक्रिया गरिएको थियो। वक्ताहरूले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा र विभेदको अन्त्यका लागि परिवार, समाज, समुदाय तथा स्थानीय सरकार सबैको साझा भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने, महिलालाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनुपर्ने तथा हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।

तीजलाई केवल मनोरञ्जन र सांस्कृतिक पर्वका रूपमा मात्र नभई महिलाका अधिकार, समानता, सम्मान र सामाजिक न्यायका विषयमा आवाज उठाउने अवसरका रूपमा समेत उपयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा सहभागी महिलाहरूले विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिमार्फत तीजको उल्लाससमेत साटासाट गरेका थिए।

महिला समन्वय समिति र माईजोगमाई गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रमले महिलामाथि हुने हिंसा तथा विभेदविरुद्ध सामूहिक आवाज उठाउँदै महिला अधिकार र सशक्तीकरणका विषयमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

Leave a Response