माईजोगमाईमा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर सहायक सामग्री वितरण
माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सहायक सामग्री वितरण तथा अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले सहायक सामग्री वितरण गरिएको हो। विशेषगरी सामग्री लिन कार्यालयसम्म आउन कठिन हुने अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै पालिकाले उनीहरूकै घरमा पुगेर आवश्यक सहायक सामग्री हस्तान्तरण गरेको हो।
अपाङ्गता समन्वय समिति, माईजोगमाई गाउँपालिकाकी संयोजक प्रविना राईको संयोजकत्वमा माईजोगमाई आधारभूत अस्पतालका डाक्टर यस्मिन सेर्पा, अपाङ्गता सहजकर्ता सरोज पौडेल, सिबिआरएफ अरुण अधिकारी, पञ्जीकरण इकाइका डम्बर निरौला लगायतको टोलीले अपाङ्गता भएका व्यक्तिहरूको घरघरमा पुगेर सहायक सामग्री वितरण गरेको थियो।
सहायक सामग्री प्राप्त भएपछि अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारले दैनिक क्रियाकलापमा सहजता हुने अपेक्षा व्यक्त गरेका छन्। अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूको अवस्था र दैनिक जीवनमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै यस्ता सामग्री वितरण गरिएको बताइएको छ।
कार्यक्रमका क्रममा एक जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्रसमेत वितरण गरिएको छ। अपाङ्गता परिचयपत्रले राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा तथा अधिकार प्राप्त गर्न सहज हुने भएकाले यसको वितरणलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयमा बोलाएर सेवा दिनुभन्दा उनीहरूको अवस्थालाई मध्यनजर गर्दै घरमै पुगेर सेवा तथा सहायक सामग्री उपलब्ध गराउने अभ्यासले स्थानीय सरकार नागरिकको घरदैलोसम्म पुगेको अनुभूति गराएको अपाङ्गता भएका घरपरिवारका सदस्यको भनाइ छ।
माईजोगमाई गाउँपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई आवश्यक सेवा, सुविधा, सहायक सामग्री तथा परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको अभिन्न अंगका रूपमा स्थापित गर्दै उनीहरूको सम्मानजनक र आत्मनिर्भर जीवनका लागि स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायबीचको सहकार्य अझ महत्वपूर्ण हुने देखिन्छ।
यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा प्रत्यक्ष सहयोग पुर्याउनुका साथै समावेशी स्थानीय शासन, घरदैलोमै सेवा र अपाङ्गतामैत्री सेवा प्रवाहको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
केहि तस्विरहरु:

add a comment





