माईजोगमाई सेरोफेरो

तुम्लिङमा विश्व पर्यटन दिवस मनाइयो, पर्यटनसँगै पर्यटकको स्वास्थ्य सुरक्षामा जोड

माईजोगमाई खवर

विश्व पर्यटन दिवस–२०२६ को अवसरमा माईजोगमाई गाउँपालिका–२ स्थित तुम्लिङमा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा पर्यटकको स्वास्थ्य सुरक्षामा केन्द्रित विशेष कार्यक्रम सम्पन्न भएको छ।

“Digital Agenda and Artificial Intelligence to Redesign Tourism” अर्थात् “डिजिटल एजेन्डा तथा कृत्रिम बुद्धिमत्तामार्फत पर्यटनको पुनःपरिकल्पना” भन्ने विषयका साथ आयोजित कार्यक्रम Eastern Himalaya Travel & Tour Operators’ Association (EHTTOA) को आयोजनामा भएको हो। कार्यक्रममा माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा माईजोगमाई गाउँपालिकाको तुम्लिङ, गुराँसे, मेघमा, जौबारी, थुम्केलगायत क्षेत्रका पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित संघ–संस्था तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

पर्यटन विकासका लागि सडक र सञ्चार कनेक्टिभिटी आवश्यक : अध्यक्ष थेवे

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले पर्यटन प्रवर्द्धनका लागि सरकार मात्र नभई स्थानीय समुदाय, पर्यटन व्यवसायी र सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले पर्यटन विकासका लागि सडक तथा सञ्चार कनेक्टिभिटी महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सीमावर्ती तथा हिमाली क्षेत्रमा देखिएका पूर्वाधारका समस्या समाधान गर्न स्थानीय तहबाट निरन्तर पहल भइरहेको बताउनुभयो।

अध्यक्ष थेवेका अनुसार केही समयअघिसम्म यस क्षेत्रमा सञ्चार सेवाको समस्या ठूलो थियो। सञ्चारको असुविधाका कारण पर्यटकसँगै स्थानीय व्यवसायीहरूले समेत समस्या भोग्दै आएका थिए। सम्बन्धित निकायमा पटक–पटक पहल र पत्राचार गरेपछि अहिले सञ्चार सेवा तुलनात्मक रूपमा सहज हुँदै गएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “सञ्चार सेवा सहज भएपछि यहाँका व्यवसायीलाई मात्र होइन, पर्यटकहरूलाई समेत ठूलो सुविधा पुगेको छ।”

नेपाल र भारतबीचको रोटी–बेटी तथा भाइचाराको सम्बन्धलाई पर्यटनसँग जोडेर अघि बढाउन सकिने उल्लेख गर्दै अध्यक्ष थेवेले सीमावर्ती क्षेत्रका पर्यटन गन्तव्यहरूको संयुक्त प्रवर्द्धन र आपत्कालीन अवस्थामा पर्यटकलाई सहयोग गर्ने वातावरण निर्माणमा समेत जोड दिनुभयो।

उहाँले सरकारको बजेट मात्र पर्याप्त नहुने भन्दै उपलब्ध बजेटको सही सदुपयोग, पूर्वाधारको उचित व्यवस्थापन, पर्यटकमैत्री सेवा तथा राम्रो आतिथ्य आवश्यक रहेको बताउनुभयो।

“सबै मिलेर प्रयास गरेमा पर्यटन क्षेत्रको विकास सम्भव छ। अरूले मात्रै गरिदिन्छन् भनेर पर्खिएर हुँदैन,” अध्यक्ष थेवेले भन्नुभयो।
पर्यटन क्षेत्रको विकासले स्थानीय रोजगारी, आयआर्जन र जीवनयापनमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले स्थानीय समुदायलाई पर्यटन प्रवर्द्धनमा सक्रिय हुन उहाँले आग्रह गर्नुभयो।

पर्यटन व्यवसायीबीच सहकार्यमा जोड

कार्यक्रमका संयोजकले समेत हिमाली क्षेत्रमा पर्यटनको विकासका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले पर्यटनको विकासलाई एउटा श्रृंखलाका रूपमा अघि बढाउनुपर्ने बताउँदै नेपाल तथा भारतका पर्यटन व्यवसायी, सरकारी निकाय र अन्य सरोकारवालाबीच सहकार्य भएमा पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन प्रभावकारी हुने धारणा राख्नुभयो।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डले शुभकामना पठाएको जानकारी दिँदै संयोजकले नमस्ते कञ्चनजङ्घा इको टुरिजम एसोसिएसन, गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (GTA) लगायत सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा पश्चिम बंगालका पर्यटन तथा वन मन्त्रालय र दार्जिलिङका सम्बन्धित निकायसँग समन्वय गरी सुन्दरवनदेखि सिङ्गालिला राष्ट्रिय निकुञ्ज, तुम्लिङ हुँदै लेटासे क्षेत्रसम्म पर्यटन पूर्वाधार तथा विकासका नयाँ पहल अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

पर्यटकको स्वास्थ्य सुरक्षाबारे चिकित्सकबाट जानकारी

कार्यक्रममा पर्यटन प्रवर्द्धनसँगै पर्यटकको स्वास्थ्य तथा सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको थियो।

सिलिगुडीबाट आएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले पर्यटन व्यवसायी तथा सहभागीहरूलाई पर्यटकलाई सुरक्षित रूपमा गाइड गर्ने तरिका, यात्राका क्रममा बिरामी परेमा तत्काल गर्नुपर्ने प्राथमिक उपचार, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानी तथा श्वासप्रश्वासमा समस्या देखिएमा प्रारम्भिक रूपमा कसरी सहयोग गर्ने भन्ने विषयमा जानकारी दिएका थिए।

विशेषगरी हिमाली तथा उच्च भूभागमा भ्रमण गर्ने पर्यटकमा देखिन सक्ने स्वास्थ्य समस्याका बेला तत्काल अपनाउनुपर्ने प्राथमिक उपचार, आवश्यक परेमा स्वास्थ्य संस्थासम्म पुर्‍याउने प्रक्रिया तथा पर्यटकको स्वास्थ्य सुरक्षामा पर्यटन व्यवसायीको भूमिकाबारे समेत जानकारी दिइएको थियो।

‘पूर्वी नेपालको मिनी मुस्ताङ’का रूपमा परिचित हुँदै तुम्लिङ

माईजोगमाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमध्ये तुम्लिङ नेपाल–भारत सीमावर्ती क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र शान्त वातावरणका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।

तुम्लिङ क्षेत्रलाई ‘पूर्वी नेपालको मिनी मुस्ताङ’ भनेर समेत चिनाउने गरिएको छ। यहाँ रेड पाण्डालगायत विभिन्न वन्यजन्तु तथा जैविक विविधताको अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन्।

यस क्षेत्रबाट कञ्चनजङ्घा, कुम्भकर्णलगायत हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साथै सूर्योदय र सूर्यास्तको दृश्य पनि यहाँको प्रमुख आकर्षण हो।
नजिकैका थुम्के, रानी, जौबारीलगायत क्षेत्रबाट इलामका विभिन्न भूभाग, झापाका क्षेत्र तथा भारतका विभिन्न स्थानहरूको दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रको पर्यटन सम्भावना उच्च रहेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्।

पर्यटनबाट स्थानीय आयआर्जन बढाउने अवसर

विश्व पर्यटन दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले माईजोगमाईको पर्यटनलाई पूर्वाधार, प्रविधि, स्वास्थ्य सुरक्षा र स्थानीय आतिथ्यसँग जोडेर अघि बढाउनुपर्ने सन्देश दिएको छ।

स्थानीय पर्यटन व्यवसायी, सरकार, स्वास्थ्यकर्मी तथा भारततर्फका पर्यटन सरोकारवालाबीचको सहकार्यलाई निरन्तरता दिन सके तुम्लिङ, मेघमा, गुराँसे, जौबारी, थुम्केलगायत पूर्वी इलामका पर्यटकीय गन्तव्यलाई थप व्यवस्थित र आकर्षक बनाउन सकिने सहभागीहरूको धारणा थियो।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमले पर्यटन केवल घुमफिरको विषय नभई स्थानीय रोजगारी, व्यवसाय, आयआर्जन र समग्र आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको सन्देशसमेत दिएको छ।

Leave a Response