करसाङ पदमार्ग सरसफाइ कार्यक्रममा सहभागी हुन रोंङ गाउँपालिकाको निमन्त्रणा
✍️ ज्ञानु भट्टराई / माईजोगमाई खवर

इलामको रोंङ गाउँपालिकाले गत वर्ष झै यश वर्ष पनि करसाङ पदमार्गको सरसफाइका लागि बृहत् श्रमदान कार्यक्रम आयोजना गरेको छ।
गाउँपालिकाले मंसिर २ गते बुधबार बिहान १० बजे हासपोखरीबाट झण्डी हुँदै निन्दासम्मको १९ किलोमिटर लामो पदमार्ग सरसफाइ गर्न लागेको हो।
१९ किमि लामो पदमार्गलाई ५ भागमा विभाजन गरी ५८ वटा टोल विकास समिति, जनप्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी, छिमेकी सूर्योदय नगरपालिकाको तारगाउँ, हर्कटे टोल विकास र मेचीनगरपालिकाको निन्दा टोल विकास समिति, पर्यटन तथा होमस्टे व्यवसायीलाई परिचालन गरिने गाउँपालिकाले जनाएको छ।
कम खर्चमा पदमार्ग सरसफाइ गरी पर्यटकको गतिविधि वृद्धि गर्ने, योजना प्रति नागरिकमा अपनत्व जगाउने, योजनालाई क्रमशः समुदायलाई हस्तान्तरण गरी दिगो व्यवस्थापन गर्ने र प्रचारप्रसार गर्दै पदयात्रा सिजन सुरुवातको सामूहिक घोषणा गर्ने रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो सुवाले बताउनु भयो ।
सरसफाइका लागि टाढाबाट आउने सहभागीले सिक्कल (हँसिया) अनिवार्य ल्याउनुपर्ने र नजिककाले ७५% सिक्कल र २५% काटा, कोदालो ल्याउनुपर्ने बताइएको छ। गाउँपालिकाले पानी, सामान्य खाजा र ५ वटै भागमा प्राथमिक उपचारको व्यवस्थापन गर्नेछ।
इच्छुक अन्य टोल विकास तथा श्रमदाताहरुले डिजिटल प्रणाली, टोल विकास र वडा मार्फत सहभागी हुन सक्ने रोंग गाउँपालिकाले निमन्त्रणा गरेको छ।





