माईजोगमाईमा जिल्ला खुला भलिबल प्रतियोगिता सम्पन्न, नवचेतना बरबोटे बिजयी
११ टोली सहभागी प्रतियोगिताको फाइनलमा सूर्योदय नगरपालिका–३ लाई पराजित गर्दै नवचेतना बरबोटेले जित्यो उपाधि, विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँ नगद पुरस्कार

इलामको माईजोगमाई गाउँपालिका–५, सोयाङस्थित खरिडाँडा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भएको इलाम जिल्ला खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कात्तिक २०, २१ र २२ गते तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ टोलीले सहभागिता जनाएका थिए।
प्रतियोगिताको फाइनल खेलमा नवचेतना बरबोटेले सूर्योदय नगरपालिका वडा नं. ३ लाई सोझो तीन सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको छ। बेस्ट अफ फाइभ प्रणालीमा सञ्चालन भएको फाइनल खेलमा नवचेतना बरबोटेले पहिलो सेट २५–९, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–११ अंकले आफ्नो पक्षमा पार्दै उपाधि हात पारेको हो।
प्रतियोगिताको विजेता नवचेतना बरबोटेले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सूर्योदय नगरपालिका वडा नं. ३ ले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिता सञ्चालनका लागि निर्मल खत्री, अशोक खत्री, सुमन खत्री र जीवन भण्डारीले संयुक्त रूपमा द्वितीय पुरस्कारका लागि २० हजार रुपैयाँ सहयोग गरेका थिए। त्यसैगरी, जिल्ला भलिबल संघले भलिबल उपलब्ध गराएको थियो भने माईजोगमाई खेलकुद विकास परिषद्ले भलिबल र नेट सहयोग गरेको थियो।
प्रतियोगिता सम्पन्न गर्न माईजोगमाई गाउँपालिकाले समेत आर्थिक सहयोग गर्ने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभएको थियो। स्थानीय समाजसेवी तथा खेलप्रेमीहरूबाट पनि प्रतियोगिता सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।
खरिडाँडा स्पोर्टिङ क्लबका अध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिका कार्यपालिका सदस्य धनलक्ष्मी सोङ्मीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माईजोगमाई खेलकुद विकास परिषद्का सचिव महेश सापकोटा, श्री सरस्वती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक, वडाका जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा मातृका खत्री र तारा लिम्बूले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगिताको अवसरमा आयोजकले चिट्ठा कार्यक्रमसमेत सञ्चालन गरेको थियो। प्रतिटिकट ५०० रुपैयाँ निर्धारण गरिएको चिट्ठामा प्रथम पुरस्कार खसी र दोस्रो पुरस्कार कुखुराको भाले राखिएको थियो। चिट्ठामा स्थानीय प्रज्वल घिमिरेले प्रथम पुरस्कार खसी प्राप्त गरेका थिए भने शिव खड्काले दोस्रो पुरस्कार कुखुराको भाले हात पारेका थिए।
फाईनल खेलको अवसरमा महिला भलिबल खेल समेत सम्पन्न भएको छ । महिला भलिबल खेलमा LFC गुप्ती र आयोजक बिच भएको खेलमा गुप्ती बिजयी भएको थियो ।
स्थानीयस्तरमा भलिबल खेलको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
स्थानीय खेल प्रतिभाको पहिचान र प्रवर्द्धनसँगै खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।





