
माईजोगमाई गाउँपालिकाले खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८३ अन्तर्गत ८०० मिटर दौड विधामा प्रथम स्थान हासिल गर्न सफल नामसालिङ माध्यमिक विद्यालयकी छात्रा विपशा लाम्गादेलाई नगद रु. १५,००० सहित सम्मान गरिएको हो। उनलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, एसईई २०८१ र २०८२ तथा बीएलई २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हासिल गरी आफ्नो विद्यालयबाट Top–3 GPA ल्याउने जम्मा १९ जना विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ।
एसईईतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. २,५००, रु. २,००० र रु. १,५०० तथा बीएलईतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. २,०००, रु. १,५०० र रु. १,००० नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुद र शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै यसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र उत्कृष्ट नतिजा हासिल गर्ने प्रेरणा थप्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे , उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्य,शिक्षा शाखा प्रमुख करूणा नेपाल , विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मानित विद्यार्थी तथा खेलाडीहरूले गाउँपालिकाले गरेको सम्मानले आगामी दिनमा अझ मेहनतका साथ अध्ययन र खेलकुदमा लाग्न थप ऊर्जा र हौसला मिलेको प्रतिक्रिया दिएका थिए।
केही तस्विरहरू :


















