
सहयात्रा नेपालको आयोजना, माईजोगमाई गाउँपालिकाको समन्वय तथा टेवा काठमाडौंको आर्थिक सहयोगमा सञ्चालित ‘विपद् प्रतिकार्य तथा पूर्वाभ्यास तालिम’ माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ।
तिन दिनसम्म सञ्चालन भएको उक्त तालिम सहयात्रा नेपालका अध्यक्ष हेमकुमारी सिवाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राई विशेष आतिथ्यातामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष थेवेले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र दक्ष जनशक्ति निर्माणको आवश्यकता औंल्याउँदै यस्ता तालिमले स्थानीय तहको विपद् प्रतिकार्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् आउनुअघि नै आवश्यक योजना, अभ्यास र जनचेतना अभिवृद्धि गर्न सके जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो।

विशेष अतिथि उपाध्यक्ष प्रविना राईले विपद् व्यवस्थापनमा स्थानीय समुदाय, जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता तालिम महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रमकी अध्यक्ष हेमकुमारी सिवाले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताउँदै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, आपतकालीन प्रतिकार्य, घाइतेको उद्धार तथा प्राथमिक उपचार, राहत व्यवस्थापन, सुरक्षित स्थानान्तरण र समन्वय प्रणालीका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। साथै सम्भावित विपद्को अवस्थालाई आधार बनाएर पूर्वाभ्यास (Simulation Exercise) समेत सञ्चालन गरिएको थियो।
उक्त तालिमको सहजीकरण सशस्त्र प्रहरी बल ईलामले गरेको थियो। तालिममा गाउँपालिकाका बिपतमा खटिन सक्ने युवाहरू, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

आयोजकका अनुसार यस्ता तालिमले स्थानीय स्तरमा विपद् प्रतिकार्य क्षमताको विकास गर्नुका साथै विपद्का बेला प्रभावकारी समन्वय, द्रुत उद्धार तथा राहत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै सुरक्षित र विपद्-उत्थानशील समुदाय निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





