
काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित Gandhi International Motivational Award 2026 Nepal कार्यक्रममा गायिका तथा टुङ्ना वादक फुटी शेर्पा सम्मानित हुनुभएको छ।
संगीत तथा कला–संस्कृतिको क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै शेर्पालाई Best Art & Culture Award बाट सम्मान गरिएको हो।
फुटी शेर्पाले नेपाली मौलिक संगीत तथा कला–संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ। उहाँले 2025 सालमा भारतको सिलिगुडीमा आयोजित Himalayan Ethnic Competition 2025 मा उपविजेताको उपाधिसमेत हासिल गर्नुभएको थियो।
त्यस्तै, शेर्पा समुदायबाट रेडियो नेपालमा आधुनिक गीततर्फको स्वर परीक्षा उत्तीर्ण गर्ने शेर्पा समुदायको पहिलो महिलासमेत रहेको बताइएको छ। उहाँका विभिन्न गीतहरू अहिले YouTube लगायतका डिजिटल माध्यमबाट समेत सुन्न सकिन्छ।
अन्तर्राष्ट्रिय स्तरको Best Art & Culture Award प्राप्त गरेपछि आफू अत्यन्तै गौरवान्वित र खुसी भएको फुटी शेर्पाले बताउनुभएको छ। यस सम्मानले आगामी दिनमा कला तथा संगीतको क्षेत्रमा अझ सक्रिय भएर अगाडि बढ्न आफूलाई थप हौसला र प्रेरणा मिलेको उहाँको भनाइ छ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपाली मौलिक संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आउनुभएकी शेर्पालाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएकोमा कला क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
यस सम्मानले नेपाली मौलिक कला, संस्कृति र संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुग्ने तथा नयाँ पुस्तालाई समेत आफ्नो कला र संस्कृतिप्रति प्रेरित गर्ने विश्वास गरिएको छ।




