
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यद्यपि, आज अपराह्नदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर अधिकांश स्थानमा बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ । कोशी, मधेस र बागमतीका धेरै स्थान तथा गण्डकीका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्नेछ । कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बादल लाग्ने भए पनि वर्षाको सम्भावना क्रमशः घट्नेछ । हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ ।
आइतबार भने देशभर आंशिक बदली रहने अनुमान छ । हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





