बिज्ञान / प्रबिधि

टिकटकले तीन महिनामा हटायो नेपालका २० लाखभन्दा बढी भिडियो, ९७ प्रतिशत एआईमार्फत पहिचान

माईजोगमाई खवर

सामाजिक सञ्जाल टिकटकले आफ्नो प्लेटफर्ममा प्रकाशित सामग्रीको निगरानी तथा कम्युनिटी गाइडलाइन्स कार्यान्वयनका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको व्यापक प्रयोग गर्दै आएको छ।

टिकटकका अनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा विश्वभर कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाइएको छ।

हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा अर्थात् करिब ९७ प्रतिशत भिडियो स्वचालित पहिचान प्रविधि (Automated Detection Technology) को प्रयोगबाट हटाइएको कम्पनीले जनाएको छ। यो अवधिमा टिकटकमा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा मात्रै उक्त तीन महिनाको अवधिमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाइएको छ। यो नेपालबाट प्रकाशित कुल भिडियोको करिब ०.४ प्रतिशत हो।

टिकटकका अनुसार नेपालमा हटाइएका सामग्रीमध्ये ९९.५ प्रतिशत भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै सक्रिय निगरानी प्रणालीमार्फत पहिचान गरिएको थियो। त्यस्तै, पहिचान गरिएका ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको कम्पनीले जनाएको छ।

यद्यपि, समीक्षा प्रक्रियापछि गलत रूपमा हटाइएको ठहर भएका ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ।

टिकटकले प्रयोगकर्तालाई सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउने उद्देश्यले एआई प्रविधिसहित स्वचालित प्रणाली र मानवीय समीक्षामार्फत सामग्रीको निगरानी तथा व्यवस्थापन गर्दै आएको जनाएको छ।

Leave a Response