शिक्षा / स्वस्थ्य

विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा नेपालका दुई चिकित्सक

माईजोगमाई खवर

विश्वभरका उदीयमान क्यान्सर विशेषज्ञहरूको प्रतिष्ठित सूचीमा नेपालका दुई चिकित्सक परेका छन्। युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ESMO) ले सन् २०२६ का लागि छनोट गरेका २८ जना उदीयमान क्यान्सर विशेषज्ञमध्ये नेपालका डा. रजनी झा र डा. विवेक घोष पनि समावेश भएका हुन्।

उनीहरूलाई ESMO को ‘Leadership and Career Development Award 2026’ प्रदान गरिएको हो। स्पेनको म्याड्रिडमा अक्टोबर २३ देखि २७ सम्म आयोजित ESMO Congress 2026 का क्रममा उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

सम्मानित हुने डा. रजनी झा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग आबद्ध छिन्। उनले बंगलादेशको बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीबाट अंकोलोजी विषयमा अध्ययन पूरा गरेकी हुन्। साथै, अमेरिकाको एमडी एन्डरसन क्यान्सर सेन्टरबाट ल्युकेमियासम्बन्धी विशेष तालिमसमेत लिएकी छन्।

त्यस्तै, डा. विवेक घोष विराट मेडिकल कलेज टिचिङ हस्पिटलसँग आबद्ध छन्। उनले भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट स्नातकोत्तर गरेका हुन्। उनले क्यानडाको क्यान्सरकेयर मनिटोबा तथा युनिभर्सिटी अफ मनिटोबाबाट रेडिएसन अंकोलोजीमा विशेष फेलोसिप हासिल गरेका छन्।

उक्त अवार्डले चिकित्सकहरूको नेतृत्व क्षमता, व्यावसायिक विकास, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसबाट नेपालमा क्यान्सर उपचार सेवा, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाको विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

विश्वस्तरको प्रतिस्पर्धामा नेपाली चिकित्सकले हासिल गरेको यो उपलब्धिलाई नेपालको चिकित्सा क्षेत्रका लागि गौरवपूर्ण सफलताका रूपमा हेरिएको छ।

Leave a Response