माईजोगमाई सेरोफेरो

विद्यार्थीहरूलाई कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकाको न्यायिक समितिको आयोजनामा विद्यार्थीहरूलाई लक्षित गरी कानुनी साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युवा पुस्तालाई कानुन, न्याय, अधिकार तथा कर्तव्यका विषयमा सचेत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उजुरी प्रशासक श्याम सेम्बोले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा अमरकल्याण माध्यमिक विद्यालय, शिवमाई माध्यमिक विद्यालय तथा इलाम शुभकन्या इङ्ग्लिस स्कुल , नामसालिङ माबि , नेपालज्योति माबि , सिरिशे माबि , सरस्वति माबि , प्याङ माबि , ज्ञानोदय माबिका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले समाजमा शान्ति, सुशासन र कानुनी शासन कायम गर्न नागरिकमा कानुनी चेतनाको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले कानुन उल्लङ्घनका घटनामा कसैलाई पनि छुट नहुने उल्लेख गर्दै विद्यार्थीहरूलाई सानै उमेरदेखि कानुनप्रति सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो। अध्यक्ष थेवेले विद्यालय तहबाटै कानुनी शिक्षा र सचेतना अभिवृद्धि गर्न सके भविष्यमा हुने विभिन्न प्रकारका सामाजिक तथा कानुनी समस्याहरू न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी न्यायिक समितिकी संयोजक प्रविना राईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई न्याय, अन्याय, अधिकार, कर्तव्य तथा सामाजिक जिम्मेवारीका विषयमा जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा कानुनी ज्ञान अभिवृद्धि गर्नुका साथै अनुशासित, जिम्मेवार र सचेत नागरिक निर्माणमा टेवा पुग्ने धारणा राख्नुभयो। साथै उहाँले विवाद व्यवस्थापन, मेलमिलाप तथा न्यायिक समितिको भूमिकाबारे समेत जानकारी दिनुभएको थियो।

कार्यक्रमका सहजीकर्ता तथा गाउँपालिकाका उजुरी प्रशासक श्याम सेम्बोले स्थानीय सरकारको संरचना, न्यायिक समितिको कार्यक्षेत्र, कानुनी साक्षरताको महत्व तथा पछिल्लो समय बढ्दो साइबर अपराधका विषयमा विस्तृत जानकारी दिनुभएको थियो। उहाँले सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन माध्यमबाट हुन सक्ने अपराधका प्रकार, त्यसबाट बच्ने उपाय तथा कानुनी व्यवस्थाबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो। साथै उहाँले कानुनी ज्ञानले व्यक्तिलाई सही निर्णय लिन, आफ्नो अधिकारको रक्षा गर्न तथा कर्तव्य निर्वाह गर्न सहयोग पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुनी साक्षरता, न्यायिक प्रक्रिया, साइबर सुरक्षा तथा स्थानीय सरकारका गतिविधिबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यालयस्तरमै कानुन सम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

माईजोगमाई गाउँपालिकाले विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि गर्दै जिम्मेवार, अनुशासित तथा सचेत नागरिक निर्माण गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Leave a Response