माईजोगमाईमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न
✍️ माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक मनाइएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक, कृषि प्राविधिक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“धान बालीमा लगानी वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित मनाइएको दिवसमा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गरी कृषिप्रति सम्मान व्यक्त गरेका थिए। कार्यक्रमअन्तर्गत कृषकहरूलाई धान खेतीको महत्व, आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन वृद्धि सम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले कृषि क्षेत्र गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधार भएको उल्लेख गर्दै कृषकहरूको जीवनस्तर उकास्न स्थानीय सरकारले विभिन्न कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले कृषि उत्पादनमा आत्मनिर्भर बन्न आधुनिक प्रविधिको प्रयोग र व्यवसायिक खेतीतर्फ अग्रसर हुन कृषकहरूलाई आग्रह गर्नुभयो।
धान दिवसका अवसरमा परम्परागत असारे गीत, हिलोमा रोपाइँ तथा दही–चिउरा खाने कार्यक्रमले विशेष रौनक थपेको थियो। सहभागीहरूले कृषि संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आपसी सद्भावका साथ दिवस मनाएका थिए।
नेपालको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन वृद्धि, कृषकहरूको योगदानको सम्मान तथा कृषि पेशाप्रति आकर्षण बढाउने उद्देश्यले हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस रहेता पनि आज सानिबार बिदाको दिन पारेर उक्त कार्यक्रम गरिएको कृषि शाखा प्रमुख उषा प्रधानले बताउनु भयो ।
माईजोगमाई गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राख्दै कृषकमुखी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सवले कृषिप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ। यस बर्षको धान दिवस माईजोगमाईको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र माईजोगमाई ६ ,५, को संगम स्थल सोमबारे बेसीमा धान दिवस मनाईएको हो ।





