
माईजोगमाई गाउँपालिकाको आयोजनामा सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “सहकारी शिक्षा तथा COPOMIS तालिम–२०८३” सम्पन्न भएको छ।
तालिम कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ इलामका अध्यक्ष लिला प्रसाद थापा क्षेत्रीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेको उपस्थिति रहेको थियो। त्यसैगरी माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राई विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, सञ्चालक समिति सदस्यहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिममा सहकारी संस्थाको प्रभावकारी व्यवस्थापन, अभिलेख व्यवस्थापन, वित्तीय पारदर्शिता तथा COPOMIS (Cooperative and Poverty Management Information System) सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
प्रमुख अतिथि कुश बहादुर थेवेले सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले COPOMIS प्रणालीको प्रभावकारी प्रयोग गरी संस्थागत सुशासन तथा उत्तरदायित्वलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा माईजोगमाई गाउँपालिका भित्रका सहरीहरूलाई पालिकाले केही न केही सेवा प्रदान गरिरहेको , कसैलाई मल कसैलाई डेरि सम्बन्धि त कसैलाई कृषि सम्बन्धी कार्यक्रम प्रदान गरेको र सहकारीहरू केही एक्टिभ हुनुपर्ने माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष थापा क्षेत्रीले सहकारीको दिगो विकासका लागि नियमित शिक्षा, क्षमता विकास तथा सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै सहभागीहरूलाई सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
सोही कार्यक्रममा माईजोगमाईका सहकारीहरूले पालिकाले सहकारीलाई अनुदानको ब्यवस्था हरू समेत गर्नुपर्ने र अनुदानहरू प्रदान गर्दा सहकारीहरूको मातहतमा बितरण गर्नुपर्ने साथै सहकारीको लागि अन्य कार्यक्रमहरू समेत राख्नुपर्ने सहभागिहरूले आफ्नो कुरा ब्यक्त गरेका थिए ।
सोहि कार्यक्रमको अवसरमा माईजोगमाई सहकारी समन्वय समिति समेत गठन गरिएको छ । उक्त समितिको संयोजकमा घनश्याम निरौला , सह संयोजक ईश्वरी माया सोङ्मी , सचिवमा उमेश काफ्ले , कोषाध्यक्षमा पवित्रा बुडाथोकी , सदस्यहरूमा पारसमणी घिमिरे , फूर्लमु शेर्पा , टिकाराम बसेल, अमीत लिम्बू चयन हुनुभएको छ ।
नवगठित समितिलाई माईजोगमाई गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे , उपाध्यक्ष प्रविना राई , जिल्ला सहकारी संघ ईलामका अध्यक्ष लिला थापा क्षेत्री लगायतले शुभकामना दिनुभएको थियो ।





