समाचार

जुफाल विमानस्थलमा सीता एयरको जहाजको चक्का छुट्टियो, १३ यात्रु सकुशल

माईजोगमाई खवर

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणपछि पार्किङ एरियातर्फ जाने क्रममा पछाडिको एउटा चक्का छुट्टिएको छ। घटना बिहीबार बिहान करिब ८:२५ बजे भएको हो।

नेपालगन्जबाट ७ जना विदेशी र ६ जना नेपाली यात्रु लिएर जुफाल पुगेको सीता एयरको जहाज अवतरणपछि पार्किङतर्फ अघि बढ्ने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएर बाहिर निस्किएको थियो।

चक्का छुट्टिँदा जहाजको सन्तुलन बिग्रिनुका साथै अन्य संरचनामा समेत क्षति पुग्न सक्ने जोखिम रहे पनि घटना हुँदा जहाजको गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।

सीता एयरका डोल्पा स्टेसन म्यानेजर मुकुन्द पौडेलका अनुसार जहाज धावनमार्गबाट पार्किङ एरियातर्फ पुग्दासम्म गति निकै कम भइसकेको थियो। त्यसै अवस्थामा चक्का छुट्टिएकाले चालक दलले तत्काल इन्जिन बन्द गर्न सफल भएका थिए।

जहाजमा रहेका १३ जना यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको सीता एयरले जनाएको छ।

घटनापछि जहाजको प्राविधिक अवस्था तथा चक्का छुट्टिनुको कारणबारे आवश्यक जाँच तथा अनुसन्धान गरिने बताइएको छ।

Leave a Response