माइजोगमाई २ नं वडामा ज्येष्ठ नागरिक सम्मान, अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री र राष्ट्रिय परिचयपत्र वितरण सुरु
माईजोगमाई खवर

माइजोगमाई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई सहयोगी र शैक्षिक सामग्री वितरण गर्नुका साथै राष्ट्रिय परिचयपत्र वितरण कार्य वडाबाट सुरु गरेको छ।
माइजोगमाई गाउँपालिका वडा नं. २ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडाध्यक्ष डम्बरबहादुर सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो।
गाउँपालिकाको छवटै वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत वडा नं. २ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरिएको थियो। यसअघि अघिल्लो वर्ष पनि ज्येष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो। गाउँपालिकाले यस वर्ष सहयोगी सामग्री वितरणका लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने प्रदेश सरकारबाट प्राप्त सहयोगसमेत कार्यक्रमका लागि उपयोग गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले ज्येष्ठ नागरिक परिवार र समाजका आधारस्तम्भ भएकाले उनीहरूको सम्मान, संरक्षण र उचित हेरचाह गर्नु सबैको दायित्व भएको बताउनुभयो। ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारले आगामी पुस्तालाई पनि संस्कार र जिम्मेवारी सिकाउने उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकलाई अपहेलना नगर्न र सामाजिक सुरक्षा भत्तालगायतका सुविधाबाट वञ्चित नगर्न आग्रह गर्नुभयो।
त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, सहज जीवनयापन तथा शिक्षामा पहुँच सुनिश्चित गर्न स्थानीय सरकारसँगै समाजका सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष प्रविना राईले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम केवल सामग्री वितरणमा सीमित नभई उहाँहरूको योगदानको कदर गर्ने, भेटघाट गर्ने, गुनासा तथा अपेक्षा सुन्ने र आशीर्वाद लिने अवसरसमेत भएको बताउनुभयो। अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुको उद्देश्य उनीहरूमा आत्मविश्वास बढाउँदै शिक्षाप्रति थप उत्साहित बनाउनु रहेको उहाँको भनाइ थियो।
यसैबीच, गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण कार्य पनि वडा नं. २ बाट सुरु गरेको छ। यसअघि गत सातासम्म वडा नं. १ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सम्पन्न भइसकेको छ। गाउँपालिकाका छवटै वडामा क्रमशः वितरण गर्ने योजनाअनुसार प्रत्येक वडामा करिब १० दिनका दरले सेवा सञ्चालन गरी करिब ६० दिनभित्र वितरण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कर्मचारीलाई वडा कार्यालयमै ल्याएर सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट नागरिकलाई जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने झन्झट, समय र यातायात खर्च बचत हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष थेबेले राष्ट्रिय परिचयपत्रका विवरण अनलाइनमार्फत रुजु तथा प्रमाणीकरण गर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने बताउनुभयो।
वडाध्यक्ष डम्बरबहादुर सुवेदीले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै बजेट र उपलब्ध स्रोतसाधनका आधारमा छुटेका ज्येष्ठ नागरिकलाई आगामी कार्यक्रममा समेट्ने प्रयास गरिने बताउनुभयो। उहाँले राष्ट्रिय परिचयपत्र लिनका लागि आफ्नो टोलका नागरिकलाई तोकिएको मिति र समयमा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गर्नुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई व्यवस्थित र समावेशी बनाउन निश्चित अवधिपछि पुनः सम्मान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा वडा सचिव रमेश साही, वडा सदस्यहरू, वडाका कर्मचारीहरू, ज्येष्ठ नागरिकहरू, ज्येष्ठ नागरिकका अभिभावकहरू, अपाङ्गता भएका विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू तथा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख मानबहादुर पौडेलले गर्नुभएको थियो।
गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान, अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापन तथा शिक्षामा पहुँच अभिवृद्धि र नागरिकलाई स्थानीय तहमै राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।





