माईजोगमाई सेरोफेरो

अविरल वर्षाले क्षति पुर्‍याएको मैयुँ खोला डाइभर्सन माईजोगमाई गाउँपालिकाद्वारा पुनः मर्मत

माईजोगमाई खवर

दुई दिनदेखि परेको अविरल वर्षाका कारण माईजोगमाई गाउँपालिका र सुर्योदय नगरपालिका जोड्ने फिक्कल–गुप्ती–नयाँबजार सडकखण्डअन्तर्गत मैयुँ खोलाको डाइभर्सनमा क्षति पुगेपछि माईजोगमाई गाउँपालिकाले तत्काल मर्मत गरी सवारी आवागमन पुनः सञ्चालनमा ल्याएको छ।

केही साताअघि पनि अविरल वर्षाका कारण मैयुँ खोलाको डाइभर्सन बगाएपछि गाउँपालिकाले मर्मत गरी सडक सञ्चालनमा ल्याएको थियो। तर पछिल्लो दुई दिनको लगातार वर्षाका कारण पुनः डाइभर्सनमा क्षति पुगेपछि सवारी आवागमन प्रभावित बनेको थियो।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको नेतृत्वमा गाउँपालिकाले तत्काल जेसीबी परिचालन गरी डाइभर्सनको मर्मत तथा पुनर्निर्माण गरेको हो। मर्मत कार्य सम्पन्न भएसँगै उक्त सडकखण्डमा सवारी साधन सञ्चालनमा सहजता आएको छ।

वर्षायाममा मैयुँ खोलामा पानीको बहाव बढ्दा डाइभर्सनमा पटक–पटक क्षति पुग्ने गरेको स्थानीयको भनाइ छ। महत्वपूर्ण सडकखण्ड भएकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

Leave a Response