समाचार

तीन पालिकाबीच तीनपाङ्ग्रे सवारी सञ्चालन सहज बनाउने सम्झौता

सूर्योदय, रोङ र माईजोगमाईका प्रमुखबीच सहमति, सवारी आवागमन व्यवस्थित हुने अपेक्षा

 तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा देखिएको असहजता हटाउँदै निर्वाध आवागमनलाई सहज बनाउने उद्देश्यले इलामका तीन स्थानीय तहबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकाका प्रमुखहरूबीच सूर्योदय नगरपालिका कार्यालयमा बसेको बैठकले तीनपाङ्ग्रे सवारी साधनको सञ्चालन, इन्धन भर्ने व्यवस्था, यात्रु ओसारपसार तथा पार्किङलाई व्यवस्थित बनाउने विषयमा सहमति गरेको हो ।

सम्झौताअनुसार रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकामा दर्ता भई सञ्चालनमा रहेका तीनपाङ्ग्रे सवारी साधनले सूर्योदय नगरपालिकाको क्षेत्रभित्र इन्धन भर्न तथा सम्बन्धित पालिकाको यात्रु लिएर प्रवेश गर्न वा आवागमन गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्झौतामा तीनपाङ्ग्रे सवारी साधनलाई सम्बन्धित पालिकाको क्षेत्रबाहिर अनावश्यक रूपमा यात्रु ओसारपसार गर्न नपाइने, आफ्नो पालिकाको यात्रु ओराल्ने तथा चढाउने कार्य निर्धारित स्थानमा गर्नुपर्ने र सडकमा अव्यवस्थित पार्किङ गर्न नपाइने विषयसमेत समेटिएको छ ।

सम्झौताका सर्तहरू उल्लङ्घन गरी जथाभावी यात्रु बोक्ने, तोकिएको स्थानबाहिर पार्किङ गर्ने वा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।

सम्झौतामा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल, रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बो तथा माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले हस्ताक्षर गर्नु भएको छ ।

तीन स्थानीय तहबीच भएको यस सहमतिले तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा देखिएको अन्योल हटाउन, यात्रु तथा सवारी चालकलाई सहजता प्रदान गर्न र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Response