समाचार

एआईले पत्ता लगायो PHP का कमजोरी, नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द

माईजोगमाई खवर

 

इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका छन् ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए ।

बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो ।

आज बिहीबार बिहानसम्म नेपालका डट जीओभी डट एनपी वेबसाइटहरु खुलेका छैनन् । नेपालका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र पालिकाका वेबसाइटहरु खुलेका छैनन् ।

सुरक्षा जोखिमकै कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले पनि आफ्ना केही वेब पृष्ठ अफलाइन गरेका छन् । नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत जोखिमका कारण आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्ने जनाएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना प्रणाली अफलाइन राख्न सुझाव दिएको छ ।

एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म सीधा पहुँच प्राप्त गर्ने बाटो दिन सक्छन् । त्यसबाट संवेदनशील सूचना चोरी हुने वा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने जोखिम रहन्छ ।

एआईले पत्ता लगायो गम्भीर कमजोरी

यी दुई सुरक्षा कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज (ध्ष्श) ले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेका अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा व्याख्या गरेको छ ।

एआई प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा पनि ठूलो परिवर्तन भइरहेको छ । यसले सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याइरहेको छ । तर, यस्ता कमजोरीको दुरुपयोग हुन नदिन समयमै सुरक्षा उपाय अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

यसैबीच, ह्वाइट हाउसले अमेरिकी संघीय निकायहरू सुरक्षा समस्या समाधान गर्न प्रमुख एआई प्रयोगशालाहरूसँग सहकार्य गरिरहेको जनाएको छ । जोखिम न्यूनीकरण गर्न र सुरक्षा अपडेट कार्यान्वयनलाई तीव्रता दिन यस्तो सहकार्य गरिएको हो ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा जोखिमयुक्त प्रणाली अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका छन् ।

Leave a Response