
माइजोगमाई गाउँपालिका नयाँबजारस्थित अमरकल्याण माध्यमिक विद्यालयमा विद्यालय कप्तान र सहायक कप्तान चयनका लागि मंगलबार लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदान सम्पन्न भएको छ ।

निर्वाचनबाट कक्षा १० का छात्र रिजन राई १ सय ३४ मतसहित विद्यालय कप्तानमा निर्वाचित भएका छन् । उनकी प्रतिद्वन्द्वी कक्षा ९ की छात्रा श्रेया श्रेष्ठले ५७ मत प्राप्त गरिन् । निर्वाचनमा कुल २ सय १० मत खसेकामा १९ मत बदर भएको विद्यालयले जनाएको छ ।
विद्यालय सहायक कप्तान पदका लागि भएको प्रतिस्पर्धामा कक्षा ८ की छात्रा आज्ञा अधिकारी १ सय ३२ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी कक्षा ९ की शिवानी मोदीले ४१ मत र कक्षा ९ कै छोडेन शेर्पाले १८ मत प्राप्त गरेको शिक्षक नरेन्द्र खडकाले जानकारी दिए ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउन विद्यालयले दुई मतदान केन्द्र स्थापना गरेको थियो । मतदान केन्द्र ‘क’मा कक्षा ४, ६, ८, १० र १२ का विद्यार्थी तथा मतदान केन्द्र ‘ख’ मा कक्षा ५, ७, ९ र ११ का विद्यार्थीले मतदान गरेका थिए ।

विद्यालयका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी रहेको निर्वाचन सामाजिक विषयअन्तर्गत निर्वाचन प्रक्रियाको प्रयोगात्मक सिकाइका रूपमा सञ्चालन गरिएको हो । विद्यार्थीमा लोकतान्त्रिक मूल्य-मान्यता, नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा निर्वाचन प्रक्रियाबारे व्यावहारिक ज्ञान विकास गराउने उद्देश्यले मतदानमार्फत् विद्यालय कप्तान र सहायक कप्तान चयन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले यो प्रयोगात्मक सिकाइ र लोकतान्त्रिक अभ्यासले भविष्यमा जिम्मेवार, सक्षम र सचेत नागरिक निर्माणमा महत्वपूर्ण योगदान गर्ने जनाएको छ ।(पालिकापेज)





