खेलकुद

माईजोगमाईमा जिल्ला खुला भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक र गुरुङ समाज विजयी

सोयाङमा दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा आयोजक खरिडाँडा स्पोर्टिङ क्लब र इलाम गुरुङ समाजको विजयी सुरुवात

इलामको माईजोगमाई गाउँपालिका–५, सोयाङस्थित श्री सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा दीपावलीको अवसर पारेर आयोजना गरिएको इलाम जिल्ला खुला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक खरिडाँडा स्पोर्टिङ क्लब र इलाम गुरुङ समाजले विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक खरिडाँडा स्पोर्टिङ क्लबले सूर्योदय नगरपालिका–१ लाई २५–२२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। त्यस्तै, आजै सम्पन्न दोस्रो खेलमा इलाम गुरुङ समाजले गडेरेलाई २५–१७ र २५–९ को सोझो सेटमा पराजित गरेको छ।

खरिडाँडा स्पोर्टिङ क्लब, माईजोगमाई–५ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता आगामी कात्तिक २२ गतेसम्म चल्नेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि निर्मल खत्री, अशोक खत्री, सुमन खत्री र जीवन भण्डारीले संयुक्त रूपमा द्वितीय पुरस्कारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी, जिल्ला भलिबल संघले भलिबल उपलब्ध गराएको छ भने माईजोगमाई खेलकुद विकास परिषद्ले भलिबल र नेट सहयोग गरेको छ।

प्रतियोगिता सम्पन्न गर्न माईजोगमाई गाउँपालिकाले समेत आर्थिक सहयोग गर्ने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो। स्थानीय समाजसेवी तथा खेलप्रेमीहरूबाट पनि प्रतियोगिता सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ।

खरिडाँडा स्पोर्टिङ क्लबका अध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माईजोगमाई खेलकुद विकास परिषद्का सचिव महेश सापकोटा, श्री सरस्वती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक, वडाका जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

प्रतियोगितामा मातृका खत्री र तारा लिम्बूले निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

स्थानीयस्तरमा भलिबल खेलको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Response