
‘थुम्के साहित्यिक समूह’ को आयोजना र ‘अमर कल्याण माध्यमिक विद्यालय’ को व्यवस्थापनमा इलाम जिल्लाको सुन्दर पर्यटकीय नगरी माइजोगमाईको केन्द्र नयाँबजारमा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्तीका अवसरमा ‘महाकवि परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ सम्पन्न भयो ।
कार्यक्रममा अमर कल्याण माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा चाइना रेडियो इन्टरनेसनल नेपाली सेवाका विदेशी विशेषज्ञ वरिष्ठ आख्यानकार चेतनाथ आचार्यले माइजोगमाईको प्राकृतिक तथा सांस्कृतिक पर्यावरणको चर्चा गर्दै कवितामार्फत इलामे प्राकृतिक सौन्दर्यको महिमा उजागर गरे ।

देवकोटाको काव्यिक आयामको परिचर्चा गर्दै डा. हेम भण्डारीले ‘मुनामदन खण्डकाव्यमा वर्गीय सङ्कट’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे । देवकोटाको स्मरण गर्दै स्थानीय कविहरू ओमनाथ अधिकारी, ढाकानाथ खतिवडा, नारायणप्रसाद चँदारा, मन्दाता पोखरेल, प्रेमप्रसाद भण्डारी र होमनाथ आचार्यले कविता वाचन तथा मन्तव्य प्रस्तुत गरे ।
प्रमुख अतिथि अमर कल्याण नमुना मा.वि.का प्रधानाध्यापक धनबहादुर भण्डारीले महाकविको अतुलनीय योगदानको स्मरण गर्दै माइजोगमाई क्षेत्रका स्रष्टाको सिर्जनामार्फत भएको यहाँको प्रकृति, समाज र संस्कृतिको उपस्थिति र स्थानको मुक्त कण्ठले प्रशंसा गरे ।

‘थुम्के साहित्यिक समूह’ का अध्यक्ष माइजोगमाई क्षेत्रका वरिष्ठ साहित्यकार केशवराज पौडेलले देवकोटाको ‘मुनामदन’ मा नेपाली समाज र संस्कृति पूर्ण रूपमा प्रतिबिम्बित भएको धारणा राखे । ‘लक्ष्मीप्रसाद’ शीर्षकको कविता वाचन गरी कार्यक्रमलाई पूर्णता दिएका सभाध्यक्ष पौडेलको ‘मुनामदन’ लाई विनिर्माण गरी तयार पारिएको ‘नमुना मदन’ खण्डकाव्यसमेत सार्वजनिक भइसकेको छ ।





