साहित्य

अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

डा. हेम भण्डारी

कवि उमेश अकिञ्चनको तेस्रो काव्यकृति ‘सायद किनाराहरू’ राजधानीमा  (३ साउन २०८१, शनिबार) सार्वजनिक भएको छ । रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा आयोजित समारोहमा वरिष्ठ कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवा, समीक्षक राजकुमार बानियाँ र नायक जीवन लुईटेलले विशेष आतिथ्य ग्रहण गरेका थिए ।

अकिञ्चनको कवितामाथि प्रकाश पार्दै विमला तुम्खेवाले समाज, प्रेम र मानवीय अस्तित्वलाई कविताले सम्बोधन गरेको प्रस्ट पारेकी छन् । वरिष्ठ कवि श्रवण मुकारुङले विशिष्ट लय र ध्वनि निर्माण गरी अकिञ्चनले समकालीन नेपाली कविताका फाँटमा हस्तक्षेपकारी उपस्थिति प्रस्तुत गरेको दाबी गरेका छन् । प्रचुर बौद्धिकता प्रस्तुत गरी अकिञ्चनले कवितामा सौन्दर्य उत्पादन गरेको उनको विश्लेषण छ ।

रक्षा मन्त्री मानवीर राईले इतिहासका हरेक कालखण्डमा हुने विद्रोहमा कविहरूले कवितामार्फत शालीन विद्रोह गरी परिवर्तनलाई निष्कर्ष दिन अद्वितीय भूमिका खेलेको विचार राखेका छन् । उनले अकिञ्चन उपनाममा कविता लेख्ने नेपाल सरकारका उपसचिव खड्गराज राई कर्तव्यनिष्ठ कर्मचारी र कवि भएकाले सामाजिक रूपान्तरणमा उनको विशिष्ट योगदान रहेको सन्दर्भ उद्घाटन गरी कृतिको पूर्ण सफलताको कामना गरेका छन् ।

कवि अकिञ्चनले कविता लेखनमा आफूलाई आजको यात्रासम्म साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई सश्रद्धा स्मरण गरेका छन् । उनले कविता लेखनको इमानदार प्रयत्न निरन्तर अघि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमका सहजकर्ता डा. हेम भण्डारीले कविताजस्तै सफेद चरित्र बाँचेका अकिञ्चनले कवितामा सार्वकालिक मूल्य स्थापित गरेको बताएका छन् । ‘इन्डिगो इन्क’ ले प्रकाशन गरेको अकिञ्चनको कविताकृति ‘सायद किनाहरू’ मा ४१ कविता सङ्गृहीत छन् ।

Leave a Response