बिचरा ! बुढाे मास्टर
दानैदानले पिल्सिएकाे
ज्ञानैज्ञानले थिचिएकाे
उपकारै उपकारले कुँजिएकाे
बिचरा बुढाे मास्टर
सुस्ताइरहेछ डाँडाकाे जून बनेर ।
रातले काेल्टाे फर्किन्छ
निद्रा आउँदैन
सायद बुढ्याइँकाे छट्पटीले हाेला
यता फर्किन्छ
उता फर्किन्छ
त्यहीँ पातलो डसना
पुरानो तन्ना
आफैँ चिसिसकेकाे कालो सिरक
सबैसँग विरक्त लाग्छ
करङहरु बिझाउन थाल्छन्
अनि जुरुक्क उठ्छ र बस्छ
त्यहीँ पातलो र चिसो ओछ्यानमा
आफ्ना चेलाहरुकाे सूची पल्टाएर
हेर्छ मनकाे खाताभरि
स्मृतिका आँखाले भ्याएसम्म ।
फलानो हाकिम भएको छ
त्यो डाक्टर बन्यो
ऊ फलानो देशमा छ
उसले पीएचडी गर्याे
त्यो यस्तो छ
अर्को उस्तो बनेछ
आफूले जिन्दगी समर्पण गरेको
धेरैलाई बाँच्न सिकाएको
चम्किलो ज्याेति छरेर पनि
तिरस्कार ,अपमान र उपेक्षा मात्रै भाेगेकाे
नमीठो पीडाले मन कुटुकुटु खाइरहन्छ
निद्रा लाग्दैन ।
रातको अन्तिम प्रहरमा
तन्द्राले घप्लक्क अँगालो हाल्छे
सबै चेलाहरुसँग भेट हुन्छ
काेसेली र साैगातकाे खातैखात हुन्छ
सबैका उन्नतिकाे प्रशंसा हुन्छ
आत्मगाैरवकाे मीठो अनुभूतिसँग
जिब्रो बजाईबजाई स्वाद लिन्छ
अफ्साेस !
तन्द्रा सुटुक्क भागिदिन्छे
बिउँझिन्छ
आखिर उही काेठा
पुरानो तन्ना
पातलो डसना
कालो गन्धे चिसो सिरक !
उठ्न मन लाग्छ
अगेनाकाे डिलमा बसेर
थालभरि फिका चिया पिउन मन लाग्छ
तर उठ्दैन ।
फेरि त्यहीँ तन्द्राकाे लाेभमा
छट्पटाउन थाल्छ
बिचरा बुढाे मास्टर !
✍️ केशवराज पाैडेल
माईजोगमाई गाउँपालिका वडा नं १ नयाँबजार
add a comment