‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रम : ललिपप र दुग्ध उत्पादन प्रशोधन तालिमबाट ३० युवा लाभान्वित
रोशन काफ्ले / माईजोगमाई खवर

माईजोगमाई गाउँपालिका मा ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रम अन्तर्गत ललिपप तथा दुग्ध उत्पादन प्रशोधन सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाको केन्द्र नयाँबजारमा सञ्चालन भएको उक्त तालिममा १८ वर्षदेखि ५० वर्ष मुनिका युवा तथा उद्यमीहरू सहभागी भएका थिए। गाउँपालिकाका ६ वटै वडाबाट छनोट गरी ३० जना सहभागीलाई तालिममा समावेश गरिएको कार्यक्रमका सदस्य सचिव मानबहादुर पौडेलले जानकारी दिए।
यसअघि कार्यक्रमअन्तर्गत पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन र गत वर्ष कोदोको बिस्कुट उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो।
सहभागीको तर्फबाट थिरकुमारी चापागाईंले यस्ता कार्यक्रमले युवालाई व्यवसायतर्फ प्रेरित गरेको बताउँदै गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरिन्। निर्मलध्वज राई ले तालिमले सहभागीहरूलाई व्यवसाय सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रशिक्षक सुष्मा राई ले सीप सिकेर मात्र नभई त्यसलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गरिन्। वडा नं. ४ का वडाध्यक्ष डुरन देवान ले सीपलाई व्यवहारमा रूपान्तरण गर्नु नै मुख्य उपलब्धि भएको उल्लेख गरे।
समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत ले पालिकाले वार्षिक रूपमा स्थानीय विकास र रोजगारीका लागि बजेट विनियोजन गर्दै आएको बताए। उनले सिकेका सीपलाई कार्यान्वयनमा लैजान सहभागीहरूलाई आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे ले स्थानीय स्तरमै उद्योग स्थापना र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले विदेश पलायन रोक्दै गाउँमै अवसर सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे।
कार्यक्रमकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रविना राई ले स्थानीय उत्पादनलाई स्थानीय स्तरमै प्रशोधन गर्दै रोजगारी र आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले इच्छाशक्ति भएका उद्यमीहरूलाई पालिकाबाट आवश्यक सहयोग र अनुदान उपलब्ध गराइने प्रतिबद्धता जनाइन्।
कार्यक्रममार्फत मौरीपालन, अलैंची खेती, पशुपालन, ब्युटी पार्लर तथा कोदोको बिस्कुट उत्पादनका लागि प्रतिउद्यमी २ लाख रुपैयाँसम्म अनुदान सहयोग प्रदान गरिने फोकल पर्सन मानबहादुर पौडेलले जानकारी दिए।
तालिमको प्रशिक्षण इलाम स्थित ललिपप उद्योगकी सञ्चालक सुष्मा राईले दिएकी थिइन्।




