माईजोगमाईमा सुरक्षित आप्रवासी कार्यक्रम (सामी) चौथो चरण कार्यान्वयनबारे अन्तरक्रिया
रोशन काफ्ले / माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकामा सुरक्षित आप्रवासी कार्यक्रम (सामी) को चौथो चरण कार्यान्वयन सम्बन्धी स्थानीय जनप्रतिनिधि तथा पालिका कर्मचारीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि प्रविना राईले आफू न्यायिक समितिमा रहँदा पनि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूका परिवारबाट धेरै गुनासो आउने गरेको बताइन्। यस्ता समस्याहरू समाधान गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।
उपाध्यक्ष राईले स्थानीय तहले आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गर्न विभिन्न युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै युवा लक्षित रोजगार कार्यक्रमलाई पालिकाले पूर्ण साथ र सहयोग गर्ने बताइन्।
कार्यक्रमका अध्यक्ष माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले वैदेशिक रोजगारीमा जाँदा आइपर्ने समस्याहरू पछिल्लो समय बढ्दै गएको बताए। स्थानीय स्तरमा पर्याप्त रोजगारी नहुँदा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले गाउँपालिकाले युवालाई लक्षित गरी विभिन्न रोजगारमुखी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
उनले विदेशिन बाध्य युवालाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सम्भावनाको खोजी गरी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। साथै, विदेश जानै परे ठगीमा नपरी सुरक्षित र कानुनी प्रक्रिया पूरा गरेर मात्र जान आग्रह गरे।
तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको अवस्था
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार करिब ८७ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् भने दैनिक झण्डै २३ सयको हाराहारीमा विदेश जाने गरेका छन्। नेपाल सरकारले १११ देशमा वैदेशिक रोजगारीका लागि अनुमति दिएको भए पनि अन्य देशहरूमा पनि नेपालीहरू गइरहेका छन्।
गत आर्थिक वर्षमा नेपालबाट करिब ८ लाख ३९ हजार व्यक्ति विदेशिएका छन्। इलाम जिल्लाबाट मात्र सोही अवधिमा १० हजार १८९ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये २३ प्रतिशत महिला रहेका छन्।
प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जाने संख्या मधेश प्रदेशमा सबैभन्दा बढी रहेको छ भने कोशी प्रदेश दोस्रो स्थानमा छ। कोशी प्रदेशभित्र झापा जिल्ला पहिलो र इलाम छैटौं स्थानमा रहेको तथ्याङ्कले देखाएको छ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा १,५४४ जनाको मृत्यु भएको तथ्याङ्क छ। चालु आर्थिक वर्षमा मात्र इलामबाट वैदेशिक रोजगारीमा गएका मध्ये १५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते तथा अंगभंग भएका छन्।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार विभागले १० लाख रुपैयाँ र बीमामार्फत १४ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरिएको छ। साथै, अंगभंग भएका व्यक्तिहरूलाई विभागले ७ लाख रुपैयाँसम्म सहयोग दिने गरेको छ।
सीप सिकेर सुरक्षित वैदेशिक रोजगारी
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले “विदेश नजाऔं, जानै परे सीप सिकेर दक्ष बनेर मात्र जाऔं” भन्ने मूल नारासहित इलामका स्थानिय तहरुमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




