पशुमा बाँझोपन तथा थुनेलो रोग नियन्त्रण सम्बन्धी तालिम सम्पन्न
रोशन काफ्ले / माईजोगमाई खवर

माईजोगमाई गाउँपालिका मा पशुमा देखिने बाँझोपन तथा थुनेलो रोग नियन्त्रण सम्बन्धी ३ दिवसीय पालिका स्तरीय तालिम कार्यक्रम सम्पन्न भएको छ।
गत चैत २० गतेदेखि सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाका ६ वटै वडाबाट कृषकहरूको सहभागिता रहेको थियो। तालिममा पशुमा देखिने बाँझोपन तथा थुनेलो रोग कसरी लाग्छ र त्यसको निवारण कसरी गर्ने भन्ने विषयमा विस्तृत रूपमा प्रशिक्षण तथा फिल्डमै गएर पशिक्षण दिइएको थियो। कार्यक्रममा ३४ जना कृषक सहभागी रहेको जानकारी पशु शाखा प्रमुख सुमन लावतिले दिएका छन्।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रविना राई ले कृषकहरूले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्। उनले पालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।
त्यस्तै, गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे ले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र यसको प्रभावकारिता देखिने बताए। उनले पछिल्लो समय पालिकाले कृषि तथा पशुपालन क्षेत्रमा विशेष जोड दिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने उल्लेख गरे।
हाल पालिकाको आर्थिक सहयोगमा पशु सेवा शाखाले ‘एक घर एक निःशुल्क कृत्रिम गर्भाधान’ कार्यक्रम सञ्चालन गरिरहेको छ भने छिट्टै पशु स्वास्थ्य शिविर पनि सञ्चालन हुने नायब पशु स्वास्थ्य प्राविधिक सोम देवानले जानकारी दिए।
कार्यक्रममा प्रशिक्षकका रूपमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलाम का डा. राघवेन्द्र तिवारी तथा पशु चिकित्सक नवीन वैद्य रहेका थिए। तालिममा सहभागी कृषकहरूलाई बाँझोपन तथा थुनेलो रोग नियन्त्रण सम्बन्धी आवश्यक औषधि समेत वितरण गरिएको थियो।
माईजोगमाई गाउँपालिका पशु सेवा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख सुमन लावतिले गरेका थिए।





