
नेपाल र अङ्ग्रेजबिच भएको वि.सं.१८७१ कार्तिक १८ देखि १८७२ फागुन २० (सन् १८१४ नाेभेम्बर १ देखि १८१६ डिसेम्बर २ ) सम्म लगातार १४ महिना चलेको युद्धपछि भारतको सुगाैलीमा इष्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारका प्रतिनिधि बसी तयार गरेर २ महिनापछि वि सं. १८७२ फागुन २० देखि पूर्णरुपले कार्यान्वयन गरिएको नाै बुँदे शान्ति सम्झौतालाई नै सुगाैली सन्धि भनिन्छ । यसको धारा १ मा दुई मुलुकबिच सुसम्बन्ध रहने र धारा ९ मा सन्धिको स्वीकृतिका कुरा छन् भने धारा २ र ३ मा नेपालले आफ्नो दाबी छाेड्नुपर्ने भूभाग सम्बन्धि उल्लेख भएको छ । धारा ४ मा नेपालले दाबी छाेडेका भूभागकाे क्षतिपूर्ति स्वरुप बृटिस सरकारले नेपालका राजालाई वार्षिक सालाखाला दुई लाख कम्पनी रुपैया दिने कुरा समावेश गरिएको छ । सन्धिको धारा ५,६ र ७ मा नेपालमाथि लगाइएका प्रतिबन्धात्मक कुराहरू उल्लेख छन् । धारा ८ ले दुबै मुलुकमा एक अर्काका आवासीय प्रतिनिधिहरू रहने व्यवस्था गरेको छ ।

वि.सं. १८७२ जेठ १५ (मे १८१५) बाट सुरु भएको शान्तिवार्ता असफल भएपछि दाेस्राे पटक नेपाल र कम्पनी सरकारका प्रतिनिधिहरू बसी १८७२ मङ्सिर १८ गते (२ डिसेम्बर १८१५) सर्त सहितको मिलापत्र तयार गरियो । यसमा अङ्ग्रेज सरकारका तर्फबाट १८७२ मङ्सिर २५ (९ डिसेम्बर १८१५) मा नै हस्ताक्षर गरिए पनि नेपाल सरकारका तर्फबाट हस्ताक्षर गरिएको सन्धिपत्र भने वि.सं. १८७२ फागुन २० गते (४ मार्च १८१६) मा महाराजाधिराजकाे प्रतिनिधिका रुपमा चन्द्रशेखर उपाध्यायले मकवानपुरमा सैनिक क्याम्प राखी बसेका जनरल अक्टरलाेनीलाई बुझाए र त्यसैदिनबाट सन्धि कार्यान्वयन भई विधिवत पूर्णरूपमा नेपाल अङ्ग्रेज युद्धकाे अन्त्य भयाे ।
निशान पदमार्गकाे सन्दर्भ :
सुगाैली सन्धिको धारा ३ (ङ ) मा उल्लेख भएको ” मेची नदी पूर्वको सम्पूर्ण पहाडी भूभागकाे साथै नागरीकाे किल्ला र जग्गा समेत गरी माेरङ्गबाट नगरकाेट मार्ग र त्यस नजिकको सबै भूभाग सन्धिमा हस्ताक्षर भएको ४० दिनभित्र गाेरखाली सेनाले खाली गर्नेछ ।” भन्ने सर्त अनुसार नागरीमा भएको किल्ला नेपाली सेनाले वि. सं. १८७३ वैशाखभित्र छाेडिसक्नु पर्ने अवस्था सिर्जना भयो । टिस्टाकाे सिमाना खुम्चिएर मेचीमा सरेपछि निशान सार्नुकाे विकल्प थिएन त्यसैले सुब्बा जयन्त खत्रीको कमान्डमा रहेको नेपाली सेनाकाे श्रीनाथ सिँह पल्टनद्वारा आफ्नो गाैरव ,उत्साह र वीरताकाे प्रतीक निशान करफाेक नजिकै आइतबारेकाे पूर्णे डाँडामा ल्याएर राखियो । केही समय आइतबारेकाे पूर्णे डाँडामा राखेर सिमाना नजिकै भएकोले नामसालिङकाे हात्तीटारमा सारियाे । नागरी किल्लाबाट निकालिएको निशान भाैगाेलिक अनुपयुक्तताका कारण नामसालिङबाट पनि सारेर वि. सं. १८७५ मा इलामकाे डाँडामा पुर्याई विधिवत स्थापना गरियो जहाँ २०० वर्ष भन्दा बढीको इतिहास बनिसकेको छ ।
यसरी वि.सं. १८७२ फागुन २० ( ४ मार्च १८१६) बाट मान्यताप्राप्त सुगाैली सन्धिको कार्यान्वयनकाे सिलसिलामा नेपाली सेनाले नागरी किल्लामा रहेको निशान (जसलाई हामी सम्मानसाथ जङ्गी निशान भन्ने गर्छाैँ) बाेकेर हिँडेकाे इलामसम्मकाे बाटाेलाई नै निशान पदमार्ग भनिन्छ । यो पदमार्ग मिरिककाे नागरीदेखि मेची नदीसम्म भारतीय भूमिमा पर्छ भने मेचीदेखि जाेगमाई खाेलासम्म सूर्याेदय नगरपालिका ,जाेगमाईदेखि माईसम्म माईजाेगमाई गाउँपालिका र माईदेखि इलाम बजारसम्म इलाम नगरपालिका अन्तर्गत पर्दछ ।

वि.सं. १८७३ मा आइतबारे पूर्णे डाँडामा ल्याइएकाे निशान वि. सं. १८७५ मा मात्रै नामसालिङ हुँदै इलाम पुर्याइएकाे देखिन्छ । निशानलाई नामसालिङमा पनि केही समय राखिएको हुनुपर्छ । माईस्थान र गढी शब्द सेनासँग सम्बन्धित हुन् । अहिले पनि सेना रहेको ठाउँलाई गढी भनिन्छ । गढी र माईस्थान दुबै नामका ठाउँहरू नामसालिङमा भएकाले यिनीहरूकाे पनि निशान पदमार्गकाे इतिहाससँग कुनै सम्बन्ध छ कि ? समयले खाेज्दै जाला भन्ने विश्वास लिएको छु ।

add a comment





