
शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन २५७०औँ बुद्ध जयन्ती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यसैगरी, प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किरात समुदायको महत्त्वपूर्ण पर्व ‘उभौली’ पनि आज देशभर उत्साहका साथ मनाइँदै छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश फैलाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार आजकै दिन राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म कपिलवस्तु नजिकैको लुम्बिनीमा भएको थियो । २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल त्यागेर ज्ञानको खोजीमा निस्काएका सिद्धार्थले भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए । जन्म, ज्ञान र निर्वाणजस्ता तीन वटै महत्त्वपूर्ण घटना एउटै दिन परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले अत्यन्त पवित्र दिनका रूपमा लिने गर्दछन् ।
बुद्धले प्रतिपादन गरेका दुःख, दुःखको कारण, दुःख निरोध र निरोधको उपायसम्बन्धी चार आर्यसत्य तथा त्यसको निवारणका लागि अष्टाङ्गिक मार्ग (सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका, प्रयास, स्मृति र समाधि) का उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् ।
यस अवसरमा नेवार तथा बौद्ध समुदायले बुद्धका मूर्तिहरूलाई सजाएर नगर परिक्रमा गराउने, धूप, दीप, फूल तथा प्रसाद चढाउने र भजन–कीर्तन गर्ने गर्दछन् । वुद्ध जन्मस्थल लुम्बिनी सहित देशका विभिन्न गुठी तथा सांस्कृतिक संस्थाहरूले बुद्धका जीवन र शिक्षासँग सम्बन्धित झाँकी तथा नृत्य प्रदर्शन गरी सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएका छन् ।





