खेलकुद

पुलिसलाई हराउँदै माइजोगमाईले जित्यो भलिबल उपाधि

माईजोगमाई खवर

इलामको युनाइटेड माइजोगमाई टिमले झापाको बुद्धशान्ति गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आइतबार भएको फाइनल खेलमा माइजोगमाईले कोशी प्रदेशको नेपाल पुलिस क्लब रानी, विराटनगरलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

बेस्ट अफ् फाइभ सेटमा भएको फाइनल खेलमा माइजोगमाईले सुरुदेखि नै बलियो प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई दबाबमा राख्यो । पहिलो सेट जितेसँगै टिमले आत्मविश्वास बढाएको थियो ।

मामाङ्खे समाज झापाले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको माइजोगमाईले नगद ५१ हजार रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रानीले नगद ३१ हजार रुपैयाँ पायो ।

समापन समारोहमा आयोजक समाजका पदाधिकारीले प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गर्दै निरन्तरता दिने प्रतिबद्धता जनाए । खेल हेर्न ठूलो संख्याका दर्शक उपस्थित थिए । (पालिकापेज)

Leave a Response