
दसैंको सुरुआतसँगै इलामको माइजोगमाई–४ मा सञ्चालित ज्योति स्पोर्टिङ कप–२०८२ को उपाधि आयोजक ज्योति स्पोर्टिङ क्लबले जितेको छ ।
डिफेन्डिङ च्याम्पियन चारघरे फुटबल क्लबलाई २–१ ले पराजित गर्दै आयोजकले उपाधि आफ्नै पोल्टामा राख्न सफल भएको हो ।
प्रतियोगिताको फाइनल खेल सुरु हुनासाथ घरेलु दर्शकको उत्साह उच्च थियो । खेलको १५औं मिनेटमा आयोजकका झरन राईले गरेको आकर्षक गोलले मैदान गुञ्जिएको थियो । आयोजकले लिएको अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफकै अन्त्यतिर आयोजकका एक डिफेन्डरको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टी प्रदान गरे । चारघरेका विवेक सुनामले कुनै मौका नछोडी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे । दर्शकको हुटिङबीच खेल अझै प्रतिस्पर्धात्मक बन्यो । अन्ततः आयोजकका सौरभ सुब्बाले गरेको निर्णायक गोलले जित आयोजकको पक्षमा दिलायो । चारघरेले अन्तिम मिनेटसम्म खेललाई बराबरीमा फर्काउने प्रयास गरे पनि आयोजकको डिफेन्स लाइनले मजबुत प्रदर्शन गरेपछि उपाधि गुमाउन बाध्य भयो ।
उपाधिसँगै आयोजक ज्योति स्पोर्टिङ क्लबले नगद एक लाख, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको चारघरे एफसीले भने ५० हजार र ट्रफीमा चित्त बुझायो ।
व्यक्तिगत विधामा आयोजकका खेलाडी नै हाबी भए ।
सर्वाधिक गोलकर्ता लवकुश राई (५ गोल) उदीयमान खेलाडी झरन राई, उत्कृष्ट खेलाडी सौरभ सुब्बा, उत्कृष्ट डिफेन्डर, सुगम खजुम, उत्कृष्ट गोलरक्षक रोजन राई घोषित बने । उनीहरूलाई आकर्षक ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रत्येक वर्ष विजयादशमीको अवसरमा आयोजना हुँदैआएको यो प्रतियोगिता यस वर्ष असोज ६ गते घटस्थापनामा सुरु भएको थियो । खेलसँगै स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिनी मेलासमेत आयोजना गरिएको थियो । मेलामा स्थानीय उत्पादन, खानेकुरा, खेलौना, विभिन्न स्टल र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो, जसले, खेलमैदानलाई केवल फुटबल प्रतियोगिता मात्र नभई सांस्कृतिक उत्सवमा पनि बदलिदिएको आयोजकको भनाइ छ ।
स्थानीय खेलप्रेमीको ठूलो सहभागीताले प्रतियोगिता थप भव्य बनेको आयोजक समितिले जनाएको छ । गाउँघरका बालबालिकादेखि बुढापाकासम्म खेल अवलोकनका लागि उपस्थित थिए । स्थानीय दर्शकको जोस, टोल–टोलबाट आएका युवाको हुटिङ र गाउँकै खेलाडीले उपाधि जित्दा दर्शकको अनुहारमा देखिएको खुसीले प्रतियोगितालाई ऐतिहासिक बनाउन मद्दत गरेको थयो ।





