माईजोगमाई सेरोफेरो

कृषिमा उदारणीय बन्दै लक्ष्मण

रोशन काफ्ले

माईजोगमाई गाउँपालिका–५, सोयाङका युवा लक्ष्मण खत्री आधुनिक कृषिमा रमाउँदै सफल कृषकको पहिचान बनाइरहेका छन् । कोभिड–१९ को महामारीका कारण काठमाडौं बसाइ छोडेर गाउँ फर्किएका खत्रीले गाउँमै अडिने विकल्प कृषि रोजेका थिए ।

खत्रीले पाँच वर्ष अघि सुरु गरेको ड्रागन फल, अलैंची, केरा र एभोकार्डो जस्ता नगदे खेतीले अहिले नसोचेको आम्दानी दिन थालेको छ । कृषिमा आत्मनिर्भर बन्ने सपना बोकेर गाउँ फर्किएका खत्रीले सुरूवातमा चार रोपनी क्षेत्रफलमा ड्रागन फल खेती थालेका थिए । समयसँगै उनले आफ्ना अनुभवहरूबाट सिक्दै आधुनिक प्रविधिको उपयोग गरेर कृषि पेशालाई व्यावसायिक रूप दिन थाले । हाल ड्रागन फलको उत्पादनबाट मात्र वार्षिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका उनी बताउँछन् ।

‘बजारको अभाव छैन, इलाममा नै माग राम्रो छ, ढुवानी सहज भएकाले थप समस्या छैन,’ खत्रीले भने ‘इलाम, दमक, झापा आसपासका क्षेत्रसम्म ड्रागन फलको राम्रो माग आउँछ, पछि–पछि यसलाई थप विस्तार गर्ने सोच गर्दैछु ।’ ड्रागन फल मात्र नभई खत्रीले अन्य उत्पादनहरुका लागि पनि  लगानी बढाइरहेका छन् । हाल उनले ८–१० रोपनी क्षेत्रफलमा अलैंची विस्तार गरिरहेका छन् भने एभोकार्डो, केरा लगायतका फलफूल पनि उत्पादन गर्दै आएका छन् । व्यवसायिक ढंगलेनै खेती गर्दा त्यसको फाइदा राम्रो बुझेपछि खत्रीले आफ्नै फार्मसमेत दर्ता गराएका छन् ।

‘विदेश जानु अघि गाउँमै केही गर्न सकिन्छ कि भनेर सुरु गरेको काम अहिले आत्मविश्वास र सन्तुष्टिको स्रोत बनेको छ ।’उनले भने ‘मेहनत गरे गाउँमै पनि सफल हुन सकिने रहेछ भन्ने लागेको छ ।’ कृषिमा निरन्तर लागिरहँदा खत्री सरकारी तथा संस्थागत सहकार्य आवश्यक रहेको अनुभव सुनाउँछन् । ‘कृषिमा आधुनिकता भित्र्याउन  सकियो भने रोजगारी सिर्जना मात्र होइन, समृद्धिको बाटो पनि कृषि हुनसक्ने रहेछ ।’ उनले भने ।

अहिले पैसा कमाउन विदेशिने, कोही पढाइका लागि जाने, उतै बस्ने, उतै पैसा कमाउने र स्वदेश नफर्किने सोचले युवाहरुमाझ विदेशिने होडबाजी चलिरहेका बेला खत्री गाउँमै आधुनिक कृषि कर्म गरेर सफल व्यवसायिक किसान बन्ने साँच्चै लोभलाग्दा उदारण पनि हुन् । (पालिकापेज)

Leave a Response