समाचार

कृतिको जन्मोत्सवमा अन्तरक्रिया

राजधानीको ‘ग्रिनलिफ क्याफे’ मा हिजो (असार २९, २०८२) ‘कलमका साथी’ ले यसै समूहकी सदस्य अनिता कोइरालाको प्रथम उपन्यास ‘उज्यालो औँसी’ को जन्मोत्सवका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ साहित्यकार तथा चिन्तक प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा सुधा शर्मा, उत्तम ढुङ्गेल र तारा आचार्यले कृतिको समीक्षा गरेका थिए ।

समालोचक सुधा शर्माले ‘उज्यालो औँसी’ ले स्वैरकल्पनाका माध्यमबाट सामाजिक द्वन्द्व उजागर गरेको विश्लेषण गरिन् । उनले उपन्यास वर्गीय जीवनदेखि अध्यात्मसम्म विस्तार भएको प्रस्ट पार्दै यसलाई पूर्वीय तथा पाश्चात्य मान्यताका आधारमा विवेचना गर्न सकिने बताइन् । कृतिकारका बालशखासमेत रहेका उत्तम ढुङ्गेलले कृति यथार्थबाट टाढा नभागेको विचार राखे । नारीमाथिको उत्पीडन नै कोइरालाको उपन्यासको भावभूमि बन्न पुगेको धारणा समालोचक तारा आचार्यले राखिन् । उनले प्रतिरोधी नारी चरित्रलाई उपन्यासकारले आदर्शवादका ढोकाभित्र छिराइदिँदा उपन्यासको उद्देश्य पूरा हुन नसकेको विश्लेषण गरिन् ।

कोइरालाको सिर्जनायात्रा प्रखर बन्दै गएको र आगामी दिनमा यसले अझै गति लिने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले लेखकलाई शुभकामना दिएका छन् । विशेष अतिथि प्रा.डा. कुमार कोइरालाले कृति मानसिक अभिघात हुँदै मनोविज्ञान र प्याराडक्सको चमत्कारी जादु पस्किन सफल भएको टिप्पणी गरेका छन् । ‘कलमकी साथी’ का अध्यक्षसमेत रहेकी समारोहकी सभाध्यक्ष गीता रेग्मीले लेखकको सिर्जनशील व्यक्तित्व चुलिँदै गएकोमा बधाई दिँदै शिखरतर्फको यात्राका लागि शुभकामना व्यक्त गरिन् । स्वनामधन्य साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, धीरेन्द्र प्रेमर्षि र भवानी खतिवडाले कृतिकार कोइरालालाई कृतिको प्रथम जन्मोसत्वका सन्दर्भमा शुभकामना दिएका छन् ।

‘कलमका साथी’ ले आयोजना गरेको यस कार्यक्रममा विमल भौकाजी, दिव्य गिरी, लक्ष्मण गाम्नागे, माधव काफ्ले, श्रीबाबु कार्की, शोभा शरभ, सुवास ढुङ्गेल, उत्तम कोइराला, दुर्गा घिमिरे, भागवत खनाल, अनिता पन्थी, रेखा ज्ञवाली, रमा नेपाल, लक्ष्मण वियोगी लगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो । समारोहमा ‘कलमका साथी’ का सदस्य भारती न्यौपानेले स्वागत मन्तव्य राखेकी थइन् । यस समूहका सल्लाहकार कवि डा. हेम भण्डारी सहजकर्ताको भूमिकामा देखिएका थिए । कार्यक्रममा ११२ औँ भानुजयन्तीको सन्दर्भ उठान गरी भानुको स्मरण गर्नुका साथै हालै दिवङ्गत भारतीय नेपाली साहित्यकार सानु लामाप्रति श्रद्धाञ्जली व्यक्त गरी उनको योगदानको स्मरण गरिएको थियो ।

Leave a Response