माईजोगमाई सेरोफेरो

विद्यार्थीलाई कानुनी साक्षरता

रोशन काफ्ले

माइजोगमाईमा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै कानुनी साक्षरता गोष्ठी सम्पन्न भएको छ ।

कानुनी चेतना अभिवृद्धि गर्दै भविष्यका नागरिकलाई जिम्मेवार र जानकार बनाउने उद्देश्यले एक दिवसीय गोष्ठी सम्पन्न गरिएको हो ।

माइजोगमाई–१, नयाँबजारस्थित अमर कल्याण माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न गोष्ठीमा गाउँपालिकाभरि नौ वटा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए ।

गोष्ठीको आयोजना गाउँपालिकाको न्यायिक समितिको सचिवालयले गरेको हो । कार्यक्रममा सहभागिता जनाएका विद्यार्थीलाई संविधानमा सुनिश्चित नागरिक अधिकार, कानुनी कर्तव्य, बालबालिकाको संरक्षणसम्बन्धी कानुनी प्रावधान, लैङ्गिक समानता, कानुनी सहायता, घरेलु हिंसाविरुद्धको कानुन तथा न्याय प्राप्तिको आधारभूत प्रक्रियालगायत विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रमको सहजीकरण अधिवक्ता श्याम सेम्बो र तारानिधि घिमिरेले गरेका थिए । कानुनी विषयलाई सरल भाषामा विद्यार्थीहरूसँग संवाद गरिएको सहजकर्ताले बताए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख करुणा नेपालका अनुसार कानुनी साक्षरता बालमैत्री समाज निर्माणको आधार हो । ‘विद्यालय तहमै कानुनी शिक्षा दिँदा विद्यार्थीमा चेतना बढ्छ, उनीहरूले कानुनी अधिकार र दायित्व बुझ्न सक्छन्,’ नेपालले भनिन् । उनका अनुसार विद्यालयस्तरमै कानुनी साक्षरता प्रवद्र्धन गर्ने कार्यक्रमलाई पालिकाले आगामी दिनमा समेत निरन्तरता दिने तयारी गरेको छ ।

गोष्ठीमा सहभागी विद्यार्थीले कानुनी विषयवस्तु बुझ्न पाएकामा उत्साह व्यक्त गर्दै यस्ता कार्यक्रमले आफूहरूलाई सुरक्षित र सशक्त बनाउने धारणा राखेका थिए ।

कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि तथा पालिकाका विभिन्न शाखाका प्रतिनिधिको समेत उपस्थिति थियो ।

यस्ता अभ्यासले विद्यालय, समुदाय र राज्यबीचको सम्बन्ध थप मजबुत बनाउने र कानुनी सुशासनको जग विद्यालय तहमै स्थापना गर्नमा सहयोग गर्ने आयोजकले जनाएको छ ।

Leave a Response