माइजोगमाई गाउँपालिकामा जारी बालाचतुर्दशी कपको उपाधी रेड डेभिल्स नयाँबजारले उचालेको छ । आज भएको फाइनल खेलमा रेड डेभिल्स नयाँबजारले ज्योती स्पोर्टिङ क्लब माईजोगमाई ४ लाई ३/१ गोल अंन्तरले पराजित गर्दै उपाधिमाथी कब्जा गरेको छ ।
पहिलो हाफमा २/० को अग्रता लिएको लिएको रेड डेभिल्सले दोस्रो हाफमा थप एक गोल गर्यो । रेड डेभिल्सको तर्फबाट पहिलो हाफमा शेखर राइले २ गोल गरे भने दोस्रो हाफमा निशान लिम्बुले १ गोल गरे । यता ज्योती स्पोर्टिङको तर्फबाट अविरल राईले दोस्रो हाफमा सान्त्वना गोल गरे ।
खेल अवधिभरको उत्कृष्ट गोल रक्षक ज्योती स्पोर्टिङको तर्फबाट सर्जन लिम्बू ,उत्कृष्ट डिफेन्स ज्योतिकै सुगम खाजुम , उत्कृष्ट मिडफिल्डर रेड डेभिल्सको तर्फबाट सचिन योल्मो , सर्वोत्कृष्ट खेलाडी रेड डेभिल्सका शेखर राई र सर्वाधिक गोलकर्ता रेड डेभिल्सकै मिङ्मा गुरुङ्ग घोषित भए ।
उपाधी जिते सँगै रेड डेभिल्स नयाँबजारले नगद रु ५० हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको ज्योतिले नगद रु ३० हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्यो । बालाचतुर्दशी मेलाको अवसरमा माईजोगमाई क्लब स्तरीय फुटबल खेल गत मंसिर ११ गतेबाट संचालन भएको थियो ।
आज बालाचतुर्दशी मेलाको समापन कार्यक्रमको अवसरमा आज रक्तदान कार्यक्रम समेत संचालन भएको थियो रक्तदान कार्यक्रममा जम्मा ५१ पिन्ट रगत जम्मा भएको छ । बालाचतुर्दशी मेला आयोजक समितीको आयोजना , नेपाल रेडक्रस सोसाइटी बालागुरु उपशाखा माईजोगमाईको प्राविधिक सहयोग वर रेडक्रस सोसाइटी भद्रपुर झापा उपशाखाको सहयोगमा रंक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै गत ९ गते बाट संचालन भएको बालाचतुर्दशी मेलाको पनि आज समापन सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको प्रमुख अतिथि माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे , गाउँपालिका उपाध्यक्ष प्रविना राई , अन्य सामाजिक व्यक्तित्वहरुको विशेष आतिथ्यतामा कार्यक्रमको समापन भएको थियो भने कार्यक्रमको संचालन मेला व्यवस्थापन समितिका सचिव महेश सापकोटाले गरेका थिए ।