सूर्योदय नगरपालिका वडा नं १२ मलिममा नवनिर्मित शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । नगरप्रमुख रण बहादुर राईले एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरेका हुन् । नगरको एक वडा एक स्वास्थ्य चौकीको अवधारणा अन्तर्गत करिब ६४ लाख लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
नवनिर्मित स्वास्थ्य केन्दबाट प्राथमिक उपचार गरिने जनाईएको छ । करिब ४० प्रकारका औषधी निशुल्क रुपमा वितरण हुने केन्द्रले जनाएको छ । ३ जनशक्ति रहेको ५ कोठे भवनबाट तत्काल स्वास्थ्य सेवा प्रवाह गरिने सूर्योदय युवा नगर परिषद वडा नं १२ प्रतिनिधि शिर्जना राईले जानकारी दिइन् ।
कार्यक्रमको अवसरमा भवन निर्माणमा जग्गादान गर्ने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा टंकनाथ वाग्ले, जिवन कुमार गौतम र गंगामाया तामाङ रहेका छन् । उनिहरुलाई प्रमुख अतिथी नगरप्रमुख राईले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वडाध्यक्ष डोलेन्द्र भारद्धजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्रकी ब्यवस्थापक तारा लाप्चाले स्वागत मन्तब्य राखिन् । कार्यक्रममा नगरप्रमुख राईले एक वडा एक स्वास्थ्य चौकीको अवधारणा अन्तर्गत नगरभित्रका सबै वडामा स्वास्थ्यको पहुँच पुग्दै गएको बताएका छन् । भौतिक पुर्वाधार विकास र अन्य क्षेत्रको चौतर्फी विकास गर्न अझै थुप्रै काम बाँकी रहेकाले आफुहरु जनताको काममा ब्यस्त रहेको बताए ।