
माईजोगमाई गाउँपालिकाको आयोजना र बि.एण्ड.सि टिचिङ हस्पिटल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आज माईजोगमाई आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । शिविरमा क्यान्सर रोग बिशेषज्ञ , स्त्री तथा प्रसुति रोग बिशेषज्ञ , मुटुरोग बिशेषज्ञ , जेनरल फिजिसियन , मनोचिकित्सक रोग बिशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए भने पाठेघरको मुखको जाँच साथै ECG/ECHO/ Sugar Test लगायतको सेवा समेत निशुल्क प्रदान गरिएको थियो ।
कार्यक्रम माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा संचालन भएको थियो । शिविरमा डा.उमेश यादव ,डा. शिसेष चौधरी , डा. शिषम कुमार ठाकुर , डा. सिधार्थ उपाध्याय ,डा. सुसान्त मण्डल , डा. सचिव देव , साथै माईजोगमाईका डा. यसमिन शेर्पा र डा. अभिषेक ठकुरी लगायतले निशुल्क सेवा दिएका थिए भने प्रतिमा कार्की र अर्पना राजवंशीले महिलाहरुको पठेघरको मुखको क्यान्सर कसरी हुन्छ त्यसो भएमा के गर्ने लगायतको बिषयमा महिला स्वास्थ्य संयमसेविकाहरुलाई एक दिवसीय प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो ।
आफ्नो पालिकाका नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा एक लाख सम्मको उपचारमा सहुलियत होस भनेर माईजोगमाईका बिपन्न नागरिकहरुलाई पूर्ण छुटमा समेत स्वास्थ्य बिमा पालिकाले गर्ने गरेको र ५० प्रतिशत रकममा समेत बिमा गर्ने गरेको पालिकाका अध्यक्षले उक्त कार्यक्रममा बताउनुभयो । साथै माईजोगमाईका नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहुलियत होस भनेर माईजोगमाई आधारभूत अस्पतालबाट निशुल्क ECG लगायतको परिक्षण गर्दै आएको र अस्पतालबाट दैनिक रुपमा डाक्टरको सेवा समेत प्रदान हुदै आएको पालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनु भयो ।
आज संचालन भएको शिविरमा बिभिन्न रोगका बिरामीहरुमा महिला ८७ र पुरुष ५३ गरी जम्मा १४० जना सेवाग्राहीले सेवा लिइएको जानकारी रहेको छ । साथै भोलि शुक्रबार उक्त सेवाहरु सोयाङ स्वास्थ्य चौकीबाट समेत प्रदान हुने माईजोगमाई स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले जानकारी दिनुभयो ।