
निसान पदयात्रा (बिहीबार) दोस्रो दिन इलामको माइजोगमाई गाउँपालिका–४, हात्तीटार आइपुगेको छ ।
सूर्याेदय नगरपालिका–४ मा पर्ने नेपाल–भारत सीमाक्षेत्रबाट सुरु पदयात्रा हात्तीटारको खलंगा आइपुगेको हो ।
पहिलो दिन पदयात्री छब्बिसेबाट सूर्योदय नगरपालिका–११, पूर्णेडाँडा आइपुगेका थिए । करफोक पूर्णेडाँडामा आज औपचारिक उद्घाटन भएपछि आजै साँझ माइजोगमाई ४ कै माइथान मन्दिर भएर यात्री हात्तीटार बास बसेका हुन् ।
पूर्णेडाँडामा सूर्याेदयका मेयर रणबहादुर राईले माइजोगमाईका अध्यक्ष कुशबहादुर थेबेलाई निसानको झन्डा हस्तान्तरण गरेपछि यात्रा माइजोगमाई प्रवेश भएको थियो । पदयात्रामा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी, माइजोगमाई गाउँपालिका अध्यक्ष थेबे, उपाध्यक्ष प्रविना राईलगायत जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्थानीयको उपस्थिति छ ।
हात्तीटार खलंगामा आयोजित कार्यक्रममा इलाम नगरपालिका मेयर केदार थापा, सूर्याेदयका मेयर रणबहादुर राई, इलाम नगरकी उपमेयर विष्णु लिम्बू दाहाल, नेपाली सेनाको रणशार्दूल गणका गणपति प्रह्लाद घलेलगायत सहभागी भए ।
माइजोगमाई अध्यक्ष थेबेको अध्यक्षता तथा सूर्योदयका मेयर राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।
माइजोगमाई उपाध्यक्ष प्रविना राईले निरन्तर पदयात्रामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । स्थानिय गन्जु प्रधानले सुगौली सन्धिपछि निसान राखिएको ठाउँमा पहिले डाँडा रहेको र त्यो डाडाँमा सेवा–सुविधा कम भएपछि अहिलेको सदरमुकाम इलाममा निसान सारेको जनाए ।
प्रमुख अतिथि राईले निसान पदमार्गबारे नगरको स्थानीय पाठ्यक्रममा समेत विषय समावेश गर्नुपर्ने बताए । यो ऐतिहासिक पदमार्गलाई सबैले संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । सबै पालिकाले आ–आफ्नो गुगल म्यापमा यो निसान पदमार्ग राख्नुपर्ने र इलामको मात्र नभएर समग्र नेपालकै इतिहास बोकेको यो मार्गलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष थेबेले यो ऐतिहासिक पदमार्गको एक वर्षभन्दा अगाडिदेखिको कसरत सफल भएको बताए । दुई सय वर्ष पुरानो पदमार्ग पहिचान गरेर इलाम जिल्लाको मात्र नभएर नेपालकै नयाँ आयाम यहाँ थपिएको उनको भनाइ छ । ‘अब सबै मिलेर निसान पदमार्गको संरक्षण गरेर नयाँ युवा पुस्तालाई सिकाउने र पदमार्गलाई स्थापित गरेर लानुपर्ने हुन्छ,’ उनले भने ।
कार्यक्रममा नेवार, याख्खा र लिम्बूहरूलगायतका जातजातिको झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
आजै हात्तीटारबाट माइजोगमाईले इलाम नगरपालिकालाई निसानको झन्डा पनि हस्तान्तरण गरेको छ । भोलि माइबेनी हुँदै इलाम नगरपालिकाको माइस्थानमा यात्रा समापन हुनेछ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । नेपाल एकीकरण गर्दैजाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ । नेपाल एकीकरण गर्दैजाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।
नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो । त्यसपछि हात्तीटारमा केही दिन राखेर अहिलेको सदरमुकाम ल्याइएको इतिहास छ ।
यसरी ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापित गरिएको छ ।