खेलकुद

माइजोगमाई ४ मा वडास्तरीय फुटबल खेल सम्पन्न

इलामको माइजोगमाई गाउँपालिकाको नयाँबजारस्थित यङ ब्वाइज फुटबल क्लबले वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

माइजोगमाई–३ ‘ए’लाई १ का विरुद्ध २ गोलले हराउँदै यङ ब्वाइजले उपाधि उचालेको हो ।

वडा ४ स्थित नेपालज्योति विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा जितेसँगै यङ ब्वाइजले नगद ४० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता वडा ३ ‘ए’ले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

सेमिफाइनलमा यङ ब्वाइजले माइजोगमाई–५, सोयाङ र माइजोगमाई ३ ‘ए’ले आयोजक देवान फुटबल क्लबलाई पाखा लगाएर फाइनल स्थान सुरक्षित गरेका थिए ।

प्रतियोगिताको बेस्ट प्लेयर यङ ब्वाइजका लवकुश राई, सर्वाधिक गोलकर्ता माइजोगमाई ३ ‘ए’का झरन राई, बेस्ट गोलकिपर आयोजक देवान फुटबल क्लबका जगत तामाङ घोषित भए ।

बेस्ट डिफेन्डर माइजोगमाई ३ ‘ए’का अञ्जान प्रधान र अनुसाशित खेलाडी आयोजकका नवराज लिम्बू भए । गत पुस २३ मा सुरु प्रतियोगितामा १७ टिम सहभागी थिए ।

Leave a Response