
१५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको माई नगरपालिकामा हुने भएको छ । फागुन ४ देखि ६ फागनसम्म माईनगरपालिकाको खेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भईसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको हो । यस अघि इलाम सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता विगत वर्ष तीन वर्ष देखि सदरमुकाम बाहिर आयोजना भईरहेको समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल संचालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल संचालन हुनेछ ।
प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी खेलाडी छनौट गरिसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका गरी नौ सयदेखि एक हजार जनाको उपस्थिती हुने अनुमान गरिएकव बाँस्तोलाले बताए । प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि अहिले माइ नगरपालिकाको दानाबारीमा खेलमैदान निर्माण गर्ने काम भैरहेको माइका नगर प्रमुख खम्बा सिंह लिम्बुले जानकारी दिए । खेलकुद बिकास समितिले उक्त स्थानमा आवश्यक ब्यवस्थापन गरीरहेको छ । एक हजार दुई सय बढी माध्यमिक स्तरीय खेलाडी बिद्यार्थी र दुई सय बढी अफिसियल रेफ्री सहभागी हुने प्रतियोगिता सम्पन्न गर्नका लागि पालिकाले बिभिन्न समिति निर्माण गरी काम गरीरहेको नगर प्रमुख लिम्बुले जानकारी दिए ।
नगरले अघिल्लो बर्ष माईमा प्रतियोतिा संचालन गर्नका लागि झण्ड बुझेको थियो । पालिका पालिकामा प्रतियोगिता संचालन गर्न थालिए पछि पालिकाले पालिका स्तरीय र जिल्ला स्तरीय प्रतियोतिा संचालनका लागि ३० लाख हाराहारी बजेटको ब्यवस्थापन गरेको जनाएको छ । प्रतियोगिता आयोजना गर्दा २५ लाख रुपियाँ बढी खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ । “टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ,” अध्यक्ष बास्तोलाले भने ।
पालिका स्तरीय प्रतियोगिता गर्दा अहिले इलामका पालिकाले पाँच देखि १० लाख सम्म खर्च गर्न थालेका छन । “राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन्, यो राम्रो हो” माईका नगर प्रमुख लिम्बुले भने । पालिकाले अहिले प्रतियोगिता संगै ग्रामिण क्षेत्रमा खेलमैदानको समेत ब्यवस्था गर्न थालेका छन ।प्रतियोगितामा ६ बिधा अन्र्तगत भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनु भयो ।
पालिकाबाट छनौट भई जिल्ला र जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने खेलकुद विकास समितिका कार्यलय प्रमुख नारायण भट्टराईले बताए । रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन्। जुन पालिकामा प्रतियोगिता सम्पन्न हुन्छ उक्त पालिका आयोजक पालिकाको रुपमा रहने गरेको छ । अन्य पालिकाले समेत जिल्ला खेलकुद बिकास समितिलाई प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्दै आएका छन ।