माईजोगमाई सेरोफेरो

माईजोगमाईका वडा नं. ३ र ४ मा ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामग्री वितरण

ज्येष्ठ नागरिकको सम्मान र अनुभव आदानप्रदान, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

माईजोगमाई गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ र ४ मा ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै उनीहरूसँग सुखदुःख साटासाट, अनुभव आदानप्रदान तथा दैनिक जीवनमा भोगिरहेका समस्या र गुनासाबारे छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष प्रविना राईले ज्येष्ठ नागरिकहरूले माईजोगमाईको विकास र समाज निर्माणमा पुर्‍याएको योगदानको उच्च कदर गर्नुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरू समाजका ज्ञान र अनुभवका खानी भएको उल्लेख गर्दै उनीहरूको सम्मान गर्नु गाउँपालिकाको कर्तव्य मात्र नभई गौरवको विषयसमेत भएको बताउनुभयो।

उपाध्यक्ष राईले ज्येष्ठ नागरिकका लागि छुट्टै कार्यक्रम आयोजना गर्नुको उद्देश्य उनीहरूसँग प्रत्यक्ष भेटघाट गरी सुखदुःख साटासाट गर्नु, स्वास्थ्य अवस्था बुझ्नु, सामाजिक सुरक्षा भत्ताको उपयोगबारे जानकारी लिनु तथा दैनिक जीवनमा भोगिरहेका समस्या र गुनासाबारे छलफल गर्नु रहेको स्पष्ट पार्नुभयो।

गाउँपालिकाका सबै ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भेटघाट गर्न सम्भव नभएकाले वडास्तरमै कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो। यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकलाई आफ्ना समस्या र गुनासा जनप्रतिनिधिसमक्ष खुलेर राख्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो।

उहाँले गाउँपालिकाको आर्थिक स्रोत र साधन सीमित भएकाले सबैलाई अपेक्षाअनुसार सहयोग गर्न नसकिए पनि उपलब्ध स्रोतअनुसार सम्मान तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। साथै, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुको उद्देश्य उनीहरूको मनोबल बढाउनु र अध्ययनप्रति थप प्रोत्साहित गर्नु रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ४ मा   गाउँपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य कमला देवी नेउपानेले ज्येष्ठ नागरिकसँग सुखदुःख साटासाट गर्ने, उनीहरूको अवस्था बुझ्ने र अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, वडा नम्बर ३ मा शुभकामना मन्तव्य राख्दै वडा सदस्य प्रेम तामाङले ज्येष्ठ नागरिकहरू समाजका ज्ञान र अनुभवका खानी भएको बताउनुभयो। उहाँहरूको लामो संघर्ष, त्याग र योगदानकै कारण आजको समाज यहाँसम्म आइपुगेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तव्य भएको धारणा राख्नुभयो।

वडा नम्बर ३ को कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष कल्पना देवी सार्कीले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउनु खुसी र गौरवको विषय भएको बताउनुभयो। गाउँपालिकाले प्रदान गरेको सम्मान तथा उपहारलाई मायाको चिनोका रूपमा ग्रहण गरिदिन आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकको आशीर्वाद र सुझाव आगामी दिनमा पनि प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो। उहाँले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरूप खादा तथा फाईबरको सिरक सम्मान स्वरुप प्रदान गरिएको थियो भने अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो।

माईजोगमाई गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान, उनीहरूको अवस्था र समस्या पहिचान तथा अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न वडामा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो।

Leave a Response