सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गाउँपालिका प्रतिबद्ध छ : अध्यक्ष थेवे
अमर कल्याण माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, विद्यालय भवन निर्माणको बाँकी काम अघि बढाइने

इलामको माईजोगमाई गाउँपालिका–१, नयाँबजारस्थित अमर कल्याण माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
अध्यक्ष थेवेले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। विद्यार्थीहरूको समस्या पहिचान गर्न ‘अध्यक्ष–उपाध्यक्षसँग विद्यार्थी अन्तरक्रिया’, शिक्षकहरूको अध्यापन शैली तथा कार्यसम्पादन मूल्याङ्कनका लागि पेशागत सुपरिवेक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँले अमर कल्याण माध्यमिक विद्यालयले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न तथा अन्य विद्यालयसँगको सहकार्य र सद्भाव बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
विद्यालयको निर्माणाधीन नमुना विद्यालय भवन लामो समयदेखि अवरुद्ध रहेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष थेवेले पुरानो निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता कानुनी प्रक्रिया पूरा गरी अन्त्य गरिएको र बाँकी निर्माण कार्यका लागि पुनः ई–टेन्डर प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिनुभयो। यसले विद्यालय भवन निर्माणको काम अघि बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ थियो।
त्यसैगरी, विद्यालयमा क्यान्टिन निर्माण तथा विद्यालय परिसर घेराबारा गर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले बजेट व्यवस्थापनका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो। विद्यालयको घेराबारा निर्माणका लागि गत वर्ष गाउँपालिकाले करिब साढे दुई करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी भारतीय राजदूतावासमा प्रस्ताव पेस गरे पनि बजेट प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष थेवेले माईजोगमाई गाउँपालिकाका कतिपय सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र भौतिक संरचना पर्याप्त भए पनि विद्यार्थी संख्या न्यून रहेको विषयलाई चिन्ताजनक अवस्थाका रूपमा प्रस्तुत गर्नुभयो। सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आवश्यकताका आधारमा व्यवस्थित विद्यालय तथा छात्रावास सञ्चालन गर्ने अवधारणालाई गाउँपालिकाले अगाडि बढाउनुपर्ने बताउनुभयो। यसअघि छात्रावास निर्माणका लागि भारतीय राजदूतावाससमक्ष प्रस्ताव पेस गरिएको भए पनि बजेट प्राप्त हुन नसकेको उहाँको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष थेवेले विद्यालयको स्थापना तथा विकासका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र समाजका अग्रजहरूको योगदानको प्रशंसा गर्दै उनीहरूप्रति गाउँपालिकाको तर्फबाट धन्यवाद तथा सम्मान व्यक्त गर्नुभयो।
उहाँले विद्यार्थीहरूको शैक्षिक तथा सर्वाङ्गीण विकासका लागि विद्यालयको प्रयास मात्र पर्याप्त नहुने भन्दै अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
विशेषगरी विद्यालयले आयोजना गर्ने वार्षिक उत्सव तथा अभिभावक दिवसजस्ता कार्यक्रममा अभिभावकहरूको उपस्थिति न्यून देखिनु चिन्ताको विषय भएको उल्लेख गर्दै अध्यक्ष थेवेले आफ्ना छोराछोरीको शैक्षिक अवस्था, विद्यालयको गतिविधि र सिकाइ उपलब्धिबारे जानकारी लिन अभिभावकहरू सक्रिय हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयको स्थापनाकालदेखि हालसम्मको ऐतिहासिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विद्यालयका शैक्षिक र भौतिक गतिविधिबारे प्रधानाध्यापकले जानकारी गराउनुभएको थियो।
वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, शैक्षिक उपलब्धिको समीक्षा तथा विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न अतिथि, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।





