माईजोगमाई सेरोफेरो

सकारात्मक काम र योगदानको प्रचारप्रसार गर्नुपर्छ : उपाध्यक्ष प्रविना राई

विद्यालयका उपलब्धि र समाजमा योगदान पुर्‍याउने व्यक्तिहरूको कामलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने

इलामको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले समाजमा नकारात्मक विषयहरू मात्र नभई सकारात्मक काम र योगदानहरूको समेत प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ।

अमर कल्याण माध्यमिक विद्यालयको ७२ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको समापन समारोहमा विशेष अतिथिका रूपमा मन्तव्य राख्दै उपाध्यक्ष राईले विद्यालयमा भएका विकास निर्माण, पूर्वाधार तथा समाजका लागि योगदान गर्ने व्यक्तिहरूको कामलाई पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालले प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले विद्यालयमा निर्माण भएका राम्रा भवन, सरस्वती मन्दिर तथा मूर्ति स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरूको योगदानको उचित चर्चा हुनुपर्ने बताउनुभयो। राम्रा कामको प्रचारले समाजका अन्य व्यक्तिलाई समेत सकारात्मक काम गर्न प्रेरणा मिल्ने उहाँको भनाइ थियो।

उपाध्यक्ष राईले परिवर्तन एकैपटक सम्भव नहुने उल्लेख गर्दै समयसँगै सकारात्मक परिवर्तन हुँदै जाने बताउनुभयो। स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिए पनि आफूहरू माईजोगमाईकै नागरिक र यस क्षेत्रको विकासका शुभचिन्तक रहने उहाँले स्पष्ट पार्नुभयो।

उहाँले आलोचना र टिप्पणीभन्दा पनि आपसी सहकार्य, सकारात्मक सोच र रचनात्मक कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। साथै विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी भई आफ्नो ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न सुझाव दिनुभयो।

विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक ज्ञान र सीप प्रदान गर्न यस्ता कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको भन्दै उहाँले विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उपाध्यक्ष राईले राम्रो कर्म गर्दै अघि बढे त्यसको प्रतिफल अवश्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

Leave a Response