माईजोगमाई सेरोफेरो

माईजोगमाईको वडा नं. १ र ५ मा ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

उमेरका आधारमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिका, अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा प्रोत्साहन

माईजोगमाई गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान तथा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रमअन्तर्गत शुक्रबार गाउँपालिकाको वडा नं. ५ सोयाङ र वडा नं. १ मा कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाको सामाजिक विकास शाखामार्फत सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत दुवै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

माईजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङमा आयोजित कार्यक्रम वडा अध्यक्ष निर्मलध्वज राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रविना राई र प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख मानबहादुर पौडेल, वडा सचिव अनिता देवी घिमिरे, वडा कर्मचारी नरेन्द्र खड्का, जेष्ठ नागरिकहरु तथा उहाँहरुको संरक्षक लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, वडा नं. १ मा आयोजित कार्यक्रम वडा अध्यक्ष यमकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख मानबहादुर पौडेल, वडा सदस्य भक्त चेम्जोङलगायतको उपस्थिति रहेको थियो।

दुवै वडामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राईले ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्नु मात्रै कार्यक्रमको उद्देश्य नभएको बताउनुभयो। माईजोगमाईको सामाजिक तथा भौतिक विकासमा ज्येष्ठ नागरिकले पुर्‍याएको योगदानको कदर गर्दै उहाँहरूसँग भेटघाट, दुःखसुख आदानप्रदान तथा आशीर्वाद लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

उहाँले बालबालिका, युवा तथा महिलालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आए पनि ज्येष्ठ नागरिकको सम्मानका लागि लामो समयको अनुभवपछि सिरक वितरण तथा सम्मान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। त्यसैगरी, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुको उद्देश्य उनीहरूलाई विद्यालय शिक्षामा थप प्रोत्साहन गर्नु, आत्मविश्वास बढाउनु र अध्ययनप्रति उत्साहित बनाउनु रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले ज्येष्ठ नागरिकलाई उमेरका आधारमा क्रमशः सम्मान गरिँदै आएको स्पष्ट पार्नुभयो। बजेटको सीमितताका कारण सबैलाई एकैपटक सम्मान गर्न सम्भव नभएकाले सबैभन्दा बढी उमेर समूहबाट सुरु गरी क्रमशः कम उमेर समूहसम्म कार्यक्रम विस्तार गरिएको उहाँले बताउनुभयो।

अध्यक्ष थेवेका अनुसार चालु आर्थिक वर्षमा ७९ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। गत वर्ष सम्मान प्राप्त गरेका व्यक्तिले यस वर्ष किन नपाएको भन्ने जिज्ञासा राख्न सक्ने उल्लेख गर्दै उहाँले गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता प्रणालीमा रहेको विवरण तथा नामावलीका आधारमा मापदण्डअनुसार सम्मान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।

उहाँले ज्येष्ठ नागरिक समाज निर्माणका अनुभवी व्यक्तित्व भएको उल्लेख गर्दै विगतमा उहाँहरूले गरेका संघर्ष, श्रम र योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो। विगतमा बाटो, बिजुली, सञ्चारलगायतका आधारभूत सुविधा नहुँदा आफ्नै खर्च, श्रम र साधनस्रोत प्रयोग गरेर गाउँघरको विकासमा जुट्नुपरेको स्मरण गर्दै उहाँले त्यस्ता अनुभव नयाँ पुस्तालाई सुनाउन ज्येष्ठ नागरिकलाई आग्रह गर्नुभयो।

त्यसैगरी, ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सदुपयोग र वितरण प्रक्रियाबारे पनि उहाँले चासो व्यक्त गर्नुभयो। कतिपय ज्येष्ठ नागरिकले संरक्षकमार्फत भत्ता प्राप्त गर्ने अवस्थामा संरक्षकले रकम सम्बन्धित व्यक्तिलाई उपलब्ध गराए–नगराएको विषयमा ध्यान दिनुपर्ने बताउँदै कुनै समस्या वा गुनासो भए गाउँपालिकालाई जानकारी गराउन आग्रह गर्नुभयो।

अध्यक्ष थेवेले अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो। अपाङ्गता हुनु कुनै पाप वा पूर्वजन्मको कर्मको परिणाम नभई मानव जीवनको स्वाभाविक अवस्था भएको उल्लेख गर्दै उनीहरूलाई शिक्षा, सामाजिक गतिविधि तथा विभिन्न क्षेत्रमा समान अवसर र सहभागिताको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। सबै नागरिकको सम्मान र सहभागिता सुनिश्चित गर्न सके मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष निर्मलध्वज राईले वडा कार्यालय तथा जनप्रतिनिधिको तर्फबाट ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकबाट प्राप्त हुने अनुभव, सुझाव, सल्लाह र आशीर्वाद जनप्रतिनिधिका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि वडा तथा गाउँपालिकाको विकास र सामाजिक गतिविधिमा उहाँहरूको साथ, सहयोग र मार्गदर्शन प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, वडा नं. १ का वडा अध्यक्ष यमकुमार कार्कीले ज्येष्ठ नागरिक समाजका अभिभावक तथा अनुभवका स्रोत भएको उल्लेख गर्दै उहाँहरूको सम्मान र योगदानको कदर गर्नु सबैको दायित्व भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सुझावले समाज तथा स्थानीय तहको विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्ने धारणा राख्नुभयो। साथै, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रमले उनीहरूको अध्ययनमा थप उत्साह र हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो।

दुवै वडामा सञ्चालित कार्यक्रम सामाजिक विकास शाखाका कर्मचारी सरोज पौडेलले सञ्चालन गर्नुभएको थियो।

गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक योगदानको कदर तथा अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सम्मान, सामाजिक सहभागिता तथा स्थानीय सरकारसँगको प्रत्यक्ष सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a Response