सूर्योदय जेसीज र वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सीको सहकार्यमा ९० दिने कम्प्युटर तालिम सञ्चालन
माईजोगमाई खवर / फिक्कल , ईलाम

युवाहरूको नेतृत्व विकास, व्यक्तित्व विकास तथा सूचना–प्रविधिसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले सूर्योदय जेसीज वर्ष २०२६ र वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सीको सहकार्यमा ९० दिने बेसिक तथा एड्भान्स कम्प्युटर तालिम आज श्रावण १९ गते मङ्गलबारदेखि वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सी, फिक्कलमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। आगामी ९० दिनसम्म सञ्चालन हुने यस तालिममा सहभागीहरूलाई कम्प्युटरसम्बन्धी आधारभूतदेखि उन्नत तहसम्मका व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिनेछ।
कार्यक्रमको सभापतित्व वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सीका निर्देशक तथा सञ्चालक रुद्र कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सूर्योदय जेसीज वर्ष २०२६का अध्यक्ष बिबेश अधिकारी रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन सूर्योदय जेसीज वर्ष २०२६का उपाध्यक्ष जेसी अजित गुरुङले गर्नुभएको थियो। कार्यक्रममा वाइज इन्टरनेसनल फिक्कल कन्सल्टेन्सीका आईईएलटीएस इन्स्ट्रक्टर तथा सूर्योदय जेसीजका सदस्य जेसी अनिल राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी सूर्योदय जेसीज वर्ष २०२६का प्रकरण निर्देशक जेसी एलिस खड्काले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता सीपमूलक तालिमले युवाहरूलाई दक्ष, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार तालिममा ४५ जना प्रशिक्षणार्थीको सहभागिता रहेको छ। उनीहरूलाई ९० दिनसम्म नियमित रूपमा बेसिक तथा एड्भान्स कम्प्युटरसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ। तालिमले स्थानीय युवाहरूको रोजगारी, स्वरोजगार, नेतृत्व विकास तथा व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
सहकार्य, सीप विकास र नेतृत्व निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको यस तालिमले सूर्योदय क्षेत्रका युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम, आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।





