
इलामको माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई बाढीले बगाएको छ ।
स्थानीय शनिश्चरे भन्ने ठाउँमा रहेको जोगमाई भ्याली बोर्डिङ स्कुलबाट छुट्टी भएपछि अघि साँझ घर फर्किरहेका १२ वर्षे आहान खत्रीलाई बाढीले बगाएको हो । उनी कक्षा ६ मा पढ्दैथिए ।
उनलाई स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएर निकै तल जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले बताए ।
‘अहिले स्थानीयले बालक अड्किएको ठाउँमा रुँघेर बसिरहेका छन्,’ वडाध्यक्ष सुवेदीले भने, ‘ती बालक जीवित छैनन् भन्ने लागेर प्रहरी बोलाइएको छ, प्रहरी आएपछिमात्र उनलाई निकालिनेछ ।’ बजुर खोल्सामा अरूबेला पानीबाटै तरेर हिँड्ने गरिएपनि आज भीषण वर्षापछि बाढी आएको थियो ।
प्रहरी घटनास्थलतर्फ जाँदैगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहानको घर दाङ हो । उनी आफ्नी आमासँग मावलीघरमा थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।
(पालिकापेज)





