आफ्नै रोजाइँको विवाह पनि टिक्न छाड्यो: सम्बन्धविच्छेदका मुद्दामा इलाम देशकै नवौँ स्थानमा
माईजोगमाई खवर

प्रेम विवाह होस् वा परिवारको सहमतिमा भएको विवाह, सम्बन्ध जोगाउन नसकेर अदालत पुग्ने दम्पतीको संख्या नेपालमा तीव्र रूपमा बढिरहेको छ। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्याङ्कअनुसार प्रति १० हजार जनसंख्यामा सम्बन्धविच्छेदका मुद्दाको दरका आधारमा इलाम ५४.५९ मुद्दासहित देशकै नवौँ स्थानमा परेको छ।
तथ्याङ्कअनुसार स्याङ्जा, काठमाडौँ, तनहुँ, कास्की, चितवन, लमजुङ, रुकुमपूर्व र पाँचथरपछि इलाम नवौँ स्थानमा रहेको छ। सामाजिक रूपमा पारिवारिक सम्बन्ध बलियो मानिने जिल्लामध्ये एक इलाममा समेत सम्बन्धविच्छेदका मुद्दा उच्च दरमा देखिनु चिन्ताको विषय बनेको छ।
बदलिँदो जीवनशैली, वैदेशिक रोजगारी, आर्थिक तनाव, आपसी अविश्वास, सहनशीलताको कमी, सामाजिक सञ्जालको प्रभाव तथा दाम्पत्य जीवनमा संवादको अभावजस्ता कारणले सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको विश्लेषण गरिन्छ।
सर्वोच्च अदालतको तथ्याङ्कले देखाएको यो अवस्था इलामका लागि गम्भीर सामाजिक संकेतका रूपमा हेरिएको छ। प्रेम वा परिवारको रोजाइमा भएको विवाहसमेत दीर्घकालीन रूपमा टिकाउन चुनौती बढ्दै गएको तथ्याङ्कले देखाएको छ।





