गुरु पूर्णिमाको अवसरमा माईजोगमाईमा ज्येष्ठ शिक्षक होमनाथ अधिकारी सम्मानित
माईजोगमाई खवर

नेपाल निवृत्त शिक्षक समाज माईजोगमाई, इलामको आयोजनामा गुरु पूर्णिमाको अवसर पारेर शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका सेवा निवृत्त ज्येष्ठ शिक्षक होमनाथ अधिकारीलाई सम्मान गरिएको छ।

माईजोगमाई गाउँपालिका–५ सोयाङ निवासी तथा हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका निवृत्त शिक्षक अधिकारीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो । हाल उहाँ माईजोगमाई आईपुग्न नसक्नु भएकोले उहाको सम्मान रोम प्रसाद आचार्यलाई दिइएको र उहाले उक्त सम्मानलाई होम प्रसाद अधिकारी समक्ष पुर्याउने बताउनुभएको छ ।
नेपाल निवृत्त शिक्षक समाज माईजोगमाईका अध्यक्ष केशवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख करूणा नेपाल, प्रशासन शाखा प्रमुख गोकुलप्रसाद संजेल, समितिका रोमप्रसाद आचार्य, वडा नं. १ का वडा सदस्य भक्त चेमजोङ, अमर कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर निरौला, सदस्य तुलबहादुर लिम्बू, विभिन्न विद्यालयका शिक्षक तथा निवृत्त शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुशबहादुर थेवेले शिक्षकको योगदान समाज र राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै निवृत्त भएपछि पनि उहाँहरूको अनुभव र मार्गदर्शन समाजका लागि उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो। शिक्षा क्षेत्रको विकासमा ज्येष्ठ शिक्षकहरूले पुर्याएको योगदानको गाउँपालिकाले सधैँ उच्च सम्मान गर्ने उहाँको भनाइ थियो।
नेपाल निवृत्त शिक्षक समाज माईजोगमाईका अध्यक्ष केशवराज पौडेलले शिक्षा क्षेत्रमा समर्पित शिक्षकहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले समाजले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँले ज्येष्ठ शिक्षकहरूको अनुभव र योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
शिक्षा शाखा प्रमुख करूणा नेपालले शिक्षकको भूमिका विद्यालयको कक्षाकोठामा मात्र सीमित नभई समाज निर्माणसँग प्रत्यक्ष जोडिएको बताउँदै निवृत्त शिक्षकहरूको अनुभव शिक्षा क्षेत्रका लागि अमूल्य सम्पत्ति भएको धारणा राख्नुभयो।
प्रशासन शाखा प्रमुख गोकुलप्रसाद संजेलले ज्येष्ठ शिक्षकहरूको सम्मान गर्नु भनेको ज्ञान, अनुभव र समर्पणको सम्मान गर्नु भएको बताउँदै यस्ता कार्यक्रमले समाजमा शिक्षकप्रतिको सम्मानको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी समितिका रोमप्रसाद आचार्यले सम्मानित व्यक्तित्व होमनाथ अधिकारीको शैक्षिक योगदानको चर्चा गर्दै उहाँबाट भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो। शिक्षकहरूको योगदानलाई पुस्तान्तरण गर्दै सम्मानको संस्कारलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममाको संचालन समितिका डिल्लाी चापागाईले संचआलन गर्नुभएको थियो ।





