
शिरिसे माबि सोयाङमा राष्ट्रिय सेवा दल नेपाल (Junior NCC) अन्तर्गत सञ्चालन भइरहेको प्रशिक्षण कार्यक्रमको प्रथम चरणको अनुगमन सम्पन्न भएको छ।
अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री प्रविना राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा रण शारदुल गण, इलामका सेनानी श्री ओजस्वी जङ शाही विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
विद्यालयका प्रधानाध्यापक श्री नरबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Junior NCC अन्तर्गत विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको प्रशिक्षण तथा कार्यक्रमको प्रगतिको अवस्थाबारे अनुगमन तथा निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा विद्यार्थीहरूले प्राप्त गरिरहेको प्रशिक्षण, अनुशासन, शारीरिक अभ्यास, नेतृत्व विकास तथा राष्ट्रिय सेवा दलको उद्देश्यअनुसारका गतिविधिका विषयमा जानकारी लिइएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
राष्ट्रिय सेवा दल (NCC) कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, जिम्मेवारीबोध, सहकार्यको भावना तथा राष्ट्रप्रतिको सेवाभाव विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। Junior NCC मार्फत विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक तथा नेतृत्वमूलक सीप प्रदान गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण तथा गतिविधि सञ्चालन गरिँदै आएको छ।
अनुगमन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष प्रविना राईले विद्यार्थीहरूमा अनुशासन र नेतृत्व क्षमताको विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई लगनशील भएर प्रशिक्षणमा सहभागी हुन आग्रह गर्नुभएको थियो।
त्यस्तै, विशिष्ट अतिथि सेनानी ओजस्वी जङ शाहीले राष्ट्रिय सेवा दलको उद्देश्य र प्रशिक्षणबाट विद्यार्थीले प्राप्त गर्ने ज्ञान तथा सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक, प्रशिक्षक तथा Junior NCC मा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।





